प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्ववर्ति सरकारको केही महत्वपूर्ण निर्णय उल्टाउन सबैभन्दा पहिला पुनःनिर्माण प्राधिकरणको नेतृत्व परिवर्तन गर्ने तयारी गरिरहेको थाहा भएको छ । प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी निर्देशक (सिईओ) सुशील ज्ञवालीलाई हटाएर उनको स्थानमा नेपाली कांग्रेसको छनोट अनुसारको विज्ञलाई नियुक्त गर्ने तयारी भैरहेको विश्वस्त स्रोतले बताएको छ ।
प्राधिकरण गठन भएपछि प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने कुरामा तत्कालीन सरकार र विपक्षवीच चर्को बहस भएको थियो । अहिले सत्ता गठबन्धनका प्रमुख सहयात्री माओवादी केन्द्र र कांग्रेसवीच पनि यो विषयलाई लिएर चर्काचर्की नहोला भन्न सकिंदैन ।
बाहिर प्रचार गरिए अनुसार, भूकम्प प्रभावितलाई उपलब्ध गराउने राहत अनुदानको रकमको पहिलो किस्ता ५० हजार रुपैयाँ ४५ दिनभित्र उपलब्ध गराइसक्न दिएको निर्देशन पालनामा ज्ञवालीले अटेर गरेको आरोपमा प्रधानमन्त्री दाहालले उनलाई हटाउन लागेका हुन् ।
प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै दिन सचिवहरुको बैठकमा आफूले घोषणा गरेको समयमा पीडितलाई रकम निकासा गराउन निर्देशन दिएका थिए ।
भूकम्प प्रभावितको लगत संकलनको काम अझै नसकिएकाले उक्त मितिमा सबैलाई राहत दिन नसकिने भनेर प्राधिकरणका पदाधिकारीले सार्बजनिक रुपमै प्रतिक्रिया दिएका थिए ।
ज्ञवालीलाई पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गत असोजमा प्राधिकरणको सिईओ नियुक्त गरेको थियो । प्रधानमन्त्री दाहाल यसअघि ओली सरकारमा आफ्नो पार्टी माओवादी केन्द्र सहभागी हुँदैदेखि ज्ञवालीको कामप्रति असन्तुष्ट थिए । स्रोतका अनुसार ज्ञवालीलाई केही दिनभित्रै हटाएर नयाँ सिईओ नियुक्तिको तयारी भइरहेको छ । -सरलपत्रिका