हाल छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘मंगलम’ मा अतिथी भूमिकामा देखिन लागेकी ‘ड्रीम्स’ गर्ल साम्राज्ञी राज्य लक्ष्मी आफ्नो मुख्य भूमिका रहेको तेस्रो प्रोजेक्ट ‘तिमीसँग’ को काममा व्यस्त छिन् । साम्राज्ञी अभिनित चलचित्र ‘ड्रीम्स’ प्रदर्शनमा आइसकेको छ भने उनी अभिनित ‘ए मेरो हजुर २’ र ‘तिमीसँग’ अर्को बर्ष हलमा लाग्ने तयारीमा छ । त्यस्तै, अतिथी भूमिकामा प्रस्तुत हुन लागेकी साम्राज्ञीको ‘मंगलम’ पनि अर्को बर्षको दशैंमा रिलिज हुँदैछ । यसबर्ष कुनै पनि चलचित्र रिलिज नभएपनि उनको अर्को बर्ष तीन चलचित्र हलमा लाग्ने लगभग पक्कापक्की छ ।
‘ए मेरो हजुर २’ पछि ‘तिमीसँग’ को काममा व्यस्त साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा केही तश्वीरहरु शेयर गरेकी छिन् । ‘तिमीसँग’ को सुटको बखत खिचिएको तश्वीरमा साम्राज्ञी नायक नाजिर हुसेन र अर्का नायक आकाश श्रेष्ठसँग देखिएकी छिन् । तश्वीरबाट के स्पष्ट हुन्छ भने साम्राज्ञीको नाजिर र आकाशसँग माया बस्नेछ । शिशिर राणाको निर्माण र निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा सुशिल क्षेत्रीको छायाँकन रहेको छ । चलचित्र ‘तिमी सँग’ एनआरएन पर्यटक र नेपाली गाइडबिचको रमाइलो प्रेम कथामा आधारित रहेर तयार हुनेछ । चलचित्रलाई काठमाण्डौं सहित पोखरा, घान्द्रुक, पोन्हिल र अन्नपूर्ण वेसक्याम्पमा खिचिनेछ । चलचित्रमा संगीत राहुल मुमर्जीको रहेको छ ।