कुनै क्षेत्रमा जिन्दगीको २७ बर्ष विताउनु भनेको चानचुने कुरा होइन । २७ बर्ष भनेको एक व्यक्तिको आधा जवानी नै वित्नु हो । आज हामी कुरा गर्दैछौ, नेपाली चलचित्रका नायक राजेश हमालको । ‘यूग देखी यूगसम्म’ चलचित्रबाट नेपाली रजटपटमा भित्रिएका नायक राजेश हमालले आफ्नो जिन्दगीका २७ बर्ष नेपाली चलचित्रमा विताइसकेका छन् । यो अवधिमा उनले २ सयभन्दा बढी नेपाली सिनेमामा काम गरे । पछिल्लो समय उनी अभिनित चलचित्रहरुले खासै कमाल गर्न नसकेपनि उनलाई नेपाली दर्शकहरु ‘महानायक’ को रुपमा चिन्ने गर्छन ।
कुनै समय आफ्नो वजनदार आवाज र एक्सनले प्रत्येक नेपाली दर्शकहरुको मन जितेका हमाल चाँडै राजनीतिमा प्रवेश गर्न लागेको खबरले बेलाबखतमा नेपाली सिनेवृत खुबै तातिरहेको हुन्छ । केही दिनदेखी त झन हमाल बीबीसी नेपाली सेवाका पूर्व सम्पादक रविन्द्र मिश्रको ‘साझा पार्टी’ मा प्रवेश गर्न लागेको खबरले पनि नेपाली मिडियाहरु खुबै तातिरहेका छन् । तर, हालैमा एक टिभी अन्तर्वार्ताको क्रममा हमालले त्यो कुरालाई नकारेका छन् । हमाल भन्छन्, ‘रविन्द्र मिश्रसँग उहाँको पार्टीमा जाने कुनै कुरा भएको छैन । भएको छ तर अन्य विषयमा भएको छ ।’
अहिलेसम्म कुनै पार्टीमा प्रवेश गर्ने निर्णय नलिएको बताउने हमाल एकदिन राजनीतिमा भने अवश्य लाग्ने बताउँछन् । उनी अगाडी भन्छन्, ‘मैले जिन्दगीको पहिलो पाइला राजनीति गर्छु भनेर अगाडी बढेको होइन । म लोकतन्त्रवादी व्यक्ति हो । मैले भोलीका दिनमा राजनीति गर्न चाहे भने कुनै पनि लोकतन्त्रलाई उपनाउने पार्टीलाई समर्थन गर्न सक्छु । र, एउटा कुरा के बुझ्नुस् भन्दा म स्वतन्त्र व्यक्ति हो । म नयाँ पार्टी खोलेर राजनीतिमा आउन पनि सक्छु ।’
उमेरले ५० बर्ष नाघिसकेका हमाल ‘अब कहिले पिता बन्छैन् ?’ भन्ने प्रश्नको उत्तर पनि उति बेला उनका प्रशंसकहरुले खोजीरहेका छन् । यस विषयमा हमाल भन्छन्, ‘म तुरुन्तै त पिता बन्दै छैन तर कुनै न कुनै बेला बन्न भने सक्छु । एउटा के अनौठो कुरा छ भने मैले र मधुले अहिलेसम्म परिवार विस्तार गर्नु पर्छ भनेर सोचिहालेका छैनौं ।’
अभिनयबाटै २७ बर्ष नेपाली चलचित्रमा विताएका हमालले आफु २०१७ भित्रै निर्देशक बन्ने पनि अन्तर्वार्तामा खुलाएका छन् ।