२०६४ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘किस्मत’ बाट नेपाली चलचित्रमा निर्माता छविराज ओझाले नायक आर्यन सिग्देललाई डेव्यू गराए । करियर खोज्दै भौतारिरहेको अबस्थामा आर्यनले छविराजको ‘किस्मत’ पाएपछि आजसम्म उनले आफ्नो करियरलाई पछाडी फर्केर हेर्नु परेन् । ‘किस्मत’ पछि उनका केही चलचित्रहरु असफल पनि भए तर उनलाई आफ्नो चलचित्रमा लिन निर्माताहरुको लाइन आजसम्म कम भएको छैन् । अहिले नेपालमा सुपरहिट फिल्म दिने नायकहरुको सूचीमा आर्यन अग्रस्थानमा पर्छन । २०६४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘किस्मत’ मा रेखा थापा र विराज भट्टसँग एकसाथ स्कृन शेयर गरेका आर्यनलाई किस्मतले आफ्नो किस्मत नै बदलिदियो । अब यसको सिक्वेल अर्थात ‘किस्मत २’ प्रदर्शनको तयारीमा छ । असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा पनि निर्माता छविराज ओझाले एक नयाँ अनुहारलाई डेव्यू गराएका छन् ।
जसरी निर्माता ओझाले ‘किस्मत’ मा आर्यन सिग्देललाई डेव्यू गराए त्यसरी नै ‘किस्मत २’ मा पृथ्वीराज प्रसाईलाई डेव्यू गराएका छन् । अब हेर्न यो बाँकी छ कि पृथ्वीराजले आर्यनले पाएको जस्तो सफलता ‘किस्मत २’ बाट पाउँछन् वा पाउँदैनन् ? तर यो हेर्न भने असोज २१ नै कुर्नु पर्छ । तर छविराज ओझाको व्यानरमा चलचित्र निर्माण भएपछि सफल नहुने त कुरै छैन तर पृथ्वीराजको करियरले चाँही कस्तो मोड लिने हो त्यो हेर्न भने असोज पर्खनै पर्छ । ‘किस्मत’ मा दुई नायक र एक नायिका थिए र ‘किस्मत २’ मा पनि दुई नायक र एक नायिका छन् । नायकमा पृथ्वीराज र किशोर खतिवडा छन् भने नायिकामा शिल्पा पोख्रेलको अभिनय रहेको छ । चलचित्रमा ऋषि लामिछानेको निर्देशन, सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, दिजेन्द्र शाक्यको निर्माण, मदनकाश्यप घिमिरेको छायांकन, अर्जुन पोख्रेलको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन रहेको छ ।