काठमाडौं | फिल्म ‘कथा काठमाडौं’ले आफ्नो प्रचारलाई तिब्रता दिइरहेको छ। रिलिज मिति नजिकिदै गर्दा निर्माण युनिटले मोफसल टुर निस्कने निधो गरेको छ। रातको कुरा, जुन अनि तारालाई र त्यसपछी टाइटल गीत ’कथा काठमाडौं’ रिलिज पछी ट्रेलर समेत सार्वजनिक गरिसकेको युनिटले अब मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउदैछ।
भाद्र २२ बाट सुरु हुने मोफसल टुर इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा पुग्ने छ जहाँ फिल्मको बारेमा जानकारी गराइनेछ। युनिट मोफसल टुर अन्तर्गत नै पथरी, धरान, चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ।
कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ यस फिल्मकी निर्देशक हुन्। टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताले नै यस फिल्म लेखेकी हुन्। काठमाडौंलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ।
असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ। ‘आहाना फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन्। फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन्।