अहिले नेपाली सिनेवृत निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको विवाह सम्बन्धी खबरहरुले राम्रै तातेको छ । ‘लज्जा’ चलचित्रबाट नायिकाको रुपमा छविराज ओझाले जब शिल्पा पोख्रेललाई भित्राए त्यस बेला देखी नै उनीहरुको सम्बन्धलाई लिएर विभिन्न खबरहरु बाहिर आइरहेका छन् । अहिले भने यो जोडीको विवाह सम्बन्धी खबरहरुले नेपाली मिडियाहरुमा राम्रै स्थान पाइरहेको छ । असोज २१ गते निर्माता छविराज ओझाले निर्माण र शिल्पाले अभिनय गरेको चलचित्र ‘किस्मत २’ प्रदर्शनमा आउँदैछ ।
‘लज्जा’, ‘हवल्दार सुन्तली’ र अहिले ‘किस्मत २’ सम्म आईपुग्दा शिल्पा छविराज प्रोडक्शनकी ब्राण्ड एम्बेसडर बनिसकेकी छिन् । ‘किस्मत २’ रिलिज भएपछि शिल्पाले छविराज ओझासँग मिलेर चलचित्र ‘हिफाजत २’ बनाउने तयारीमा छिन्, जुन चलचित्रमा शिल्पाको मुख्य भुमिका रहने पक्का भइसकेको छ । नायिका हुँदै अब छविराज प्रोडक्शनको ब्यानरमा बन्न लागेको चलचित्रमा समेत लगानी गर्न लागेकी शिल्पा र छविको सम्बन्ध यि र यस्तै कुराहरुले अझ स्पष्ट पार्दै आइरहेको छ । छविराज ओझाको कुरा सुन्ने हो भने अहिलेसम्म उनले शिल्पालाई विवाहको लागि प्रपोज गरिसकेका छैनन् तर उनले शिल्पाले माने आफु विवाह गर्न तयार रहेको भने बताइसकेका छन् । त्यस्तै शिल्पाले पनि एक्लो मान्छेलाई साथ दिन आफुलाई कुनै अप्ठेरो नहुने बताइसकेकी छिन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा छविराज ओझाले ‘किस्मत २’ रिलिज भएपछि विवाहको विषयमा गम्भिर भएर सोच्ने बताए । उनले भने -‘म एकपटक शिल्पा जीलाई विवाहको लागी सोध्ने छु । तर उहाँले ५-६ बर्ष अझै विवाहका लागी कुर्नु पर्छ भन्नु भयो भने त्यो अब मबाट सम्भब छैन तर १-२ बर्ष कुर्नु भन्नुहुन्छ भने म उहाँसँग विवाह गर्न तयार छु ।’ छविराज ओझाले यस्तो उत्तर दिएपछि शिल्पाले पनि भनिन्, ‘मनपराउनेले कुर्नु पर्छ ।’
कतै-कतै उनीहरुको कुराले विवाह गर्ने छाँटकाट देखिन्छ भने कुनै-कुनै कुराले चाहीँ उनीहरुको विवाह असम्भव रहेको पनि देखाउँछ । तर जे होस्, छविराज ओझा र शिल्पा पोख्रेलको विवाहको चर्चाले चाहीँ अहिले चलचित्र ‘किस्मत २’ को पव्लिसिटी भने गज्जबले भइरहेको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, दिजेन्द्र शाक्यको निर्माण, मदनकाश्यप घिमिरेको छायांकन, अर्जुन पोख्रेलको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन रहेको छ । यो चलचित्रमा शिल्पाका अलवा किशोर खतिवडा, पृथ्वीराज प्रसाईको मुख्य भुमका रहेको छ । यो चलचित्रमा शिल्पा एक दृष्टिविहीन यूवतीको भुमिकामा देखिएकी छिन् ।