नायिका रेखा थापाले नेपाली चलचित्रमा डेव्यू गरेको चलचित्र ‘हिरो’ लाई १६ बर्षपछि नायक सविन श्रेष्ठले ‘हिरो रिटर्न्स’ को नाम दिँदै चलचित्र निर्माण गर्ने भएका छन् । नायिका रेखा थापालाई नै प्रमुख भुमिकामा देखाउँदै नायक सविन श्रेष्ठले चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण गर्न लागेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको आधिकारीक निर्माण घोषणा गरिएको छ । पहिलो पटक चलचित्र निर्माणमा हात हालेका नायक सविन श्रेष्ठले रेखा थापा अभिनित चलचित्र ‘अन्दाज’बाट नेपाली चलचित्रमा डेव्यू गरेका थिए । त्यसपछि सविनले लगातार रेखा फिल्मस्को ब्यानरमा निर्माण भएका चलचित्रमा काम गरे ।
रेखा थापासँग झण्डै आधा दर्जन चलचित्रमा सँगै काम गरेका सविनले रेखा थापालाई एक्शन अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण गर्न लागेका हुन् । कार्यक्रममा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ उपस्थित थिए । चलचित्रमा माथी उल्लेखित कलाकारहरुको प्रमुख भुमिका रहनेछ । कमेडी एक्शन थ्रिलर कथामा आधारित हुने बताइएको चलचित्र ‘हिरो रिटर्न्स’ को औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै नायिका रेखा थापाले आफुलाई सविनले चलचित्रको अफर गर्ने शैलीले नै प्रभावित भएको बताइन । उनले भनिन्, ‘मलाई सविनले जसरी चलचित्र खेल्दिनका लागि अफर गर्यो त्यो देखेर नै मैले चलचित्र खेल्न राजी भएको हुँ ।’ उनले अगाडी थप्दै भनिन्, ‘त्यो भन्दा पनि महत्वपूर्ण कुरा चलचित्रको कथावस्तु उत्कृष्ट बनेका कारणले म चलचित्र ‘हिरो रिटर्न्स’ खेल्न राजी भएको थिए ।’ रेखाले पहिलो पटक सरोज खनालसँग स्क्रिन शेयर गर्न पाउँदा पनि खुसी व्यक्त गरिन् ।
उनले चलचित्र ‘हिरो रिटर्न्स’मा आफु एक्शन अवतारमा प्रस्तुत हुने पनि बताइन । चलचित्र निर्माणमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेले सविनलाई साथ दिँदैछन् । नायक तथा निर्माता सविन श्रेष्ठले चलचित्र ‘हिरो रिटर्न्स’ १७ लाख एमजीमा अष्ट्रेलियामा विक्रि भएको बताए । खलपात्रको रुपमा चलचित्रमा देखिन लागेका सरोज खनालले आफु ‘हिरो रिटर्न्स’मा अहिलेसम्मकै फरक भुमिकामा देखिन लागेको बताए । ‘पर्खिराख हैं’ पछि नायक दिल श्रेष्ठले यो चलचित्रमा काम गर्दैछन् । चलचित्रको निर्देशन आशिष भेटवालले गर्दैछन् ।
चलचित्रको छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ । चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ । नवराज शर्मा चलचित्रका सह-निर्देशक हुन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्र हिरो रिटन्र्स यूनिटलाई शुभकामना दिएका थिए ।