सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘पदमावती’मा युद्धका कयौँ दृश्य राखिएका छन् । भन्सालीले फिल्मका त्यस्ता दृश्य छायांकनमा कुनै सम्झौता नगर्ने बताइसकेका छन् । यी दृश्यको विश्वसनीयताका लागि उनले कम्प्युटरबाट होइन, प्रत्यक्ष काम गर्ने सोच बनाइसकेका छन् । सूत्रहरूको हवाला दिँदै भारतीय पत्रिकाले त्यस्ता दृश्यका लागि १९ करोड रुपैयाँसम्म खर्च गर्न भन्साली तयार भएको बताएका छन् ।
त्यही युद्धको छायांकनका लागि १५ कलाकारको मिति पनि चुनिइसकेको पनि समाचार छ । त्यस्तै, यही फिल्ममा काम गर्ने कलाकारमा एउटा अर्को नयाँ नाम पनि आएको छ– अदिति राव हैदरी । फिल्ममा शाहिद कपुर, रणवीर सिंह र दीपिका पादुकोणले काम गर्ने यसअघि नै सुनिश्चित भइसकेको थियो । चलचित्रको छायाँकन दीपावली सकिएपछि सुरु हुनेछ ।