देशको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेल एक्वायर गरेको एक्जियटालाई नेपालको सम्भावित कर दायित्व माथि अझै पनि चिन्ता छ। एक्जियटाले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमास (जुलाई-सेप्टेम्वर)को वित्तीय विवरणमा तीन चुनौतीमध्ये एउटा नेपालको ‘कर रहेको जानकारी दिएको छ।
नेपालमा कर र नियमन अनिश्चितता छ, एक्जियटाले जारी गरेको वित्तीय प्रतिवेदनमा छ। एक्जियटाले नेपालसँगै श्रीलंका र इन्डोनेसियामा पनि यो समस्या रहेको जानकारी दिएको छ।
एक्जियटाले आठ महिना अघि टेलियासोनेराबाट एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो। यो खरिदमा नेपालले ४० अर्व रुपैयाँ हाराहारीमा कर पाउनु पर्ने आंकलन गरिएको थियो। अहिलेसम्म टेलियाको तर्फबाट एक्जियटाले अग्रिम करवापत दश अर्व रुपैयाँ बुझाएको छ भने आयकर ऐनको दफा ५७ अनुसार एनसेलको स्वामित्व परिवर्तन भएको स्वीकार गर्दै थप एक अर्व रुपैयाँ कर बुझाएको छ।
यसैसँग जोडिएको अर्को कारोवारमा निरजगोविन्द श्रेष्ठले भावनासिंह श्रेष्ठको कम्पनी सुनिभेरालाई एनसेलको २० प्रतिशत सेयर बेच्दा भएको लाभमा तीन अर्व रुपैयाँ राजस्व बुझाएका छन्।
कारोवार रकममा शंका
एक्जियटाको तेस्रो त्रैमासको प्रतिवदेनअनुसार एनसेलको सेयर कारोवार कति मूल्यमा भएको थियो भन्ने शंका सिर्जना गरेको छ। गत डिसेम्बर २१ मा कारोवार घोषणा गर्दा खरिदकर्ता एक्जियटा र विक्रेता टेलियाले एनसेल एक अर्व ३६ करोड डलर (पाँच अर्व ६७ करोड रिंगिट)मा खरिद बिक्री भएको जानकारी दिएका थिए।
तर तेस्रो त्रैमासको प्रतिवदेनमा एक्जियटाले टेलियालाई एक अर्व ७० करोड डलर (छ अर्व ८० करोड रिंगिट) भुक्तानी दिएको जानकारी दिएको छ। यो हिसावअनुसार एनसेल एक खर्ब ८० अर्व रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री भएको थियो।
एनसेलको कारोवार र त्यससँग भएको रिजर्भ, बजार र फ्रक्वेन्सीलाई आधार मान्दा सुरु घोषणा गरिएको कारोवार मूल्यलाई पूर्व अर्थसचिव रामेश्वर खनालले शंका व्यक्त गरेका थिए।
एनसेलबाट एक्जियटाको रेकर्ड
एक्जियटाले तेस्रो त्रैमासमा कारोवार २ दशमलव आठ प्रतिशतले बढाएर रेकर्ड पाँच अर्ब ५० करोड रिंगिट पुर्याएको छ। कम्पनीका सिइओ जमालुद्दिन इब्राहिमले एनसेलको कारोवारका कारण एक्जियटाको कारोवारमा वृद्धि भएको बताए। ‘एनसेलमा लगानी गर्दा जे सोंचिएको थियो कम्पनीले त्योभन्दा बढी प्रदर्शन गरेको छ’, उनले भने।
एनसेलका कारण कारोवार बढेको र बढी मार्जिन भएका कारण एक्जियटाको इबिटिडिए(व्याज, कर, ह्रासकट्टि अघिको आम्दानी) एक दशमलव तीन प्रतिशतले बढेर दुई अर्व १० करोड रिंगिट पुगेको छ भने करपछिङ्को मुनाफा २७ दशमलव तीन प्रतिशतले बढेर २९ करोड ६० लाख रिंगिट पुगेको छ।
तर एनसेलको वृद्धिदर सुस्त
एनसेलका कारण एक्जियटाको परफर्मेन्स राम्रो भए पनि आफ्नै वृद्धिदर भने सुस्ताएको छ। कम्पनीको कारोवार गत वर्षको यही अवधिमा भन्दा जम्मा दुई प्रतिशतले बढेको छ।
तेस्रो त्रैमास (जुलाई-सेप्टेम्वर) मा एनसेलले १४ अर्ब ८६ करोड २० लाख रुपैयाँको कारोवार गरेको छ। अघिल्लो वर्ष एनसेलले तेस्रो त्रैमासमा १४ अर्ब पाँच करोडको कारोवार गरेको थियो।
दोस्रो त्रैमास (अप्रिल-जुन) मा एनसेलले रेकर्ड १५ अर्ब ३९ करोड रुपैयाँको कारोवार गरेको थियो। पछिल्लो नौ महिनामा भने एनसेलले ४४ अर्ब ३० करोडको कारोबार गरेको छ। अघिल्लो अवधिमा यो ४३ अर्ब ४५ करोड रुपैयाँ थियो।
ग्राहक आधार बढे पनि एनसेलको प्रति ग्राहक आम्दानी (एभ्रेज रेभेन्यु पर युजर) भने यो अवधिमा खस्किएको छ। दोस्रो त्रैमासमा प्रतिाग्राहक आम्दानी ३६७ रुपैयाँ रहेकोमा यो अहिले घटेर ३४५ रुपैयाँमा झरेको छ। गत वर्षको तुलनामा भने अझ ज्यादा न्यून भएको छ। गत वर्षको सुरुका नौ महिनामा प्रति ग्राहक आम्दानी ३७७ रुपैयाँ रहेकोमा यो वर्षको नौ महिनामा ३५४ रुपैयाँमा झरेको छ। गत वर्षको यही अवधिको तुलनामा एनसेलको ग्राहक आधार १३ लाखले बढेर एक करोड ४३ लाख पुगेको छ।
कम्पनीले वृद्धिदर सुस्त हुनुमा मनसुनमा आएको खराबी र अन्तराष्ट्रिय कलबाट प्राप्त हुने आम्दानी घट्नुलाई दोष दिएको छ। तर कम्पनीको डाटाबाट हुने आम्दानीको वृद्दि दर भने धेरै राम्रो छ।
एनसेलको तेस्रो त्रैमासमा कुल आम्दानीमा डाटाको हिस्सा १७ प्रतिशत पुगेको छ। अघिल्लो त्रैमासमा यो १५ प्रतिशत मात्रै थियो।
एनसेलको इबिटिडिए तीन दशमलव दुई प्रतिशत बढेर २८ अर्व १३ करोड पुगेको छ। कम्पनीले त्यसका लागि डाइरेक्ट एक्सपेन्स घटाएको छ। अघिल्लो वर्ष यस्तो खर्च आम्दानीको दश दशमलव ६ प्रतिशत थियो भने यो वर्ष घटेर आठ दशमलव पाँच प्रतिशतमा आएको छ। तर एनसेलले सेल्स मार्केटिङमा भने खर्च बढाएको छ।
तर कम्पनीको करपछिको मुनाफा भने ठूलो वृद्धि भएको छ। गत वर्षको नौ महिनामा १३ अर्व १८ करोड रहेको मुनाफा अहिले बढेर १५ अर्ब ४१ करोड पुगेको छ। तर त्रैमासको आधारमा हेर्ने हो भने यो घटेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा पाँच अर्ब ७१ करोड रहेको करपछिको मुनाफा यो वर्षको तेस्रो त्रैमासमा भने चार अर्ब ६२ करोड रुपैयाँ मात्रै छ। -पहिलोपोस्ट