छविराज प्रोडक्शनकी ब्राण्ड एम्बेसडर बनिसकेकी नायिका शिल्पा पोख्रेल पहिलो पटक निर्मात्री बन्दैछिन् । छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपटमा भित्रिएकी शिल्पाले त्यसपछि न छविराजको साथ छोडिन् नत छविराजले नै शिल्पाको साथ । ‘लज्जा’ बाट सुरु भएको शिल्पा र छविराजको सहकार्य ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ हुँदै अब चलचित्र ‘मंगलम’ मा पनि हुने भएको छ । चलचित्र ‘मंगलम’ मा नायिका शिल्पा हिरोइन मात्र होइन निर्मात्री पनि बन्दैछिन् । छविराज ओझा कार्यकारी निर्माता रहने यो चलचित्रमा शिल्पा पनि निर्मात्री बन्न लागेकी हुन । सिनेखबर डटकमलाई प्राप्त जानकारी अनुसार, ‘मंगलम’ मा शिल्पाको लगभग आधा लगानी रहनेछ । यसअघि शिल्पाले चलचित्र ‘हिफाजत २’ मा लगानी गर्ने खबर थियो तर ‘हिफाजत २’ मा निर्माता छविराज ओझा र निर्देशक ज्ञानेन्द्र देउजाबीच विवाद बढेपछि उनले ‘मंगलम’ मा लगानी गर्न लागेकी हुन ।
हाल यो चलचित्रका लागि शिल्पासँग रोमान्स गर्ने लीड नायकको भने टुङ्गो लागेको छैन। खबरका अनुसार चलचित्र ‘मंगलम’ मा शिल्पासँगै ‘किस्मत २’ का नायक पृथ्वीराज प्रसाईं पनि फाइनल भइसकेका छन् । चलचित्रको कथा गोविन्द फुयालले लेखेका हुन । अहिले यो चलचित्रको गीत रेकर्डिङको काम भइरहेको छ । निर्माता ओझाको तयारी अनुसार ‘मंगलम’ लाई अर्को दशै भित्रमा रिलिज गरिसकिनेछ । नायिका शिल्पालाई रजतपटमा भित्राएका निर्देशक नवल नेपालले मंगलमलाई निर्देशन गर्नेछन् । धार्मिक शास्त्रमा ‘मंगलम’ को अर्थ हुन्छ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” ।