पुष १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर्पण’ को प्रचार प्रसारलाई अहिले निर्माणपक्षले आक्रामक बनाउँदै गएको छ । केही दिन अगाडी देश दौडाहा सकेर काठमाडौं फर्किएको निर्माणपक्षले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको विषयमा जानकारी दिएको छ । बंगलादेशी नागरिक तथा चलचित्रका निर्माता इमराज सिद्धिकी नेपाल आएको मौका छोप्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु पनि उपस्थित थिए तर चलचित्रका निर्देशक बसन्त निरौला भने देखिएनन् । केही दिन अगाडी देश दौडाहामा समेत सहभागी नभएका निर्देशकले किन चलचित्रलाई बेवास्ता गर्देछन् ? भन्ने ‘सिनेखबर डटकम’ को प्रश्नमा निर्माता रोजन रखालले निर्देशक बसन्त निरौला केही दिनदेखी सम्र्पकमा नरहेको बताए ।
उनले भने -‘हामीले चलचित्रको प्रचार प्रसार आक्रामक बनाउने क्रममा देश दौडाहामा निस्कियौ त्यस बेला मैले निर्देशक बसन्त निरौलालाई तपाई पनि हिँड्नु पर्छ भनेर भएको थिए तर उहाँ जानु भएन । खोइ थाहा छैन हामीबाट के गल्ती भयो । उहाँलाई फोन गर्दा लाग्दैन सायद उहाँले मेरो नम्बर ब्लक गर्नुभएको जस्तो छ । तर, यसरी प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई निर्देशकले नै बेवास्ता गर्नु राम्रो होइन । म उहाँलाई प्रश्न गर्न चाहन्छु के तपाई यसरी गैरजिम्मेवार बन्न मिल्छ ?’
यस विषयमा निर्देशक बसन्त निरौलासँग बुझ्दा व्यक्तिगत कामको शिलशिलामा आफु काठमाडौं बाहिर रहेको बताए । उनले भने -‘म आफ्नो व्यक्तिगत कामको शिलशिलामा काठमाडौं बाहिर थिएँ । प्रेसमिटमा म उपस्थित नभएको भन्दैमा जिम्मेवारी बहन नगरेको भन्न मिल्दैन । प्रेसमिट त सल्लाह गरेर गर्नु पर्छ ।’ उनका अनुसार, निर्माणपक्षले जानकारी विनानै पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा निर्माता रोजन रखालले चलचित्र ‘समर्पण’ फरक विषयवस्तुमा तयार भएका कारण दर्शकहरुले रुचाउने पनि दाबी गरे । त्यस्तै अर्का निर्माता इमरान सिद्धिकीले आफुले चलचित्र ‘समर्पण’ को कथावस्तु राम्रो लागेका कारण लगानी गरेको बताउँदै नेपाली चलचित्रमा लगानी गर्न पाउँदा खुसी महशुस गरिरहेको पनि बताए ।
चलचित्रमा रोजन रखाल, रन्जु शर्मा, रुवी शर्मा, अमृत शाही ठकुरी, प्रयास तामाङ, विश्वास तामाङ, आशा भुसाल, अनु पराजुली, दीपक थापा, कुमार श्रेष्ठ, बालकृष्ण बन्झरा र ज्योति काफ्लेको अभिनय रहेको छ । फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा टिकाराम रखालको लेखन, कुमार महर्जनको द्धन्द्ध, दीव्य सुवेदी र जयकुमार दर्लामी मगरको छायांकन छ ।