लामो समयदेखी क्यानडामा बस्दै आइरहेका गायक पदम भट्टराईले आफ्नो आवाज र संगीतमा रहेको ‘कोहिँ त होला’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ । हालै सार्वजनिक गरिएको भिडियोमा गायक भट्टराई र मोडल कुसुम बस्नेत फिचरिङ छन् । भिडियोमा देख्न सकिन्छ कि कुसुमलाई पदम भित्र-भित्रै मनपराउँछन् र कुसुमले पनि पदमलाई मनपराएको संकेत गर्छिन । तर, अन्तिममा कुसुमले आफ्नो प्रेमी सार्वजनिक गर्दा पदम छागाँको खसे झै हुन्छन् ।
गीतको भिडियोले यही कथा पेश गरेको छ । भिडियोलाई हरी सिवाकोटीले खिचेका हुन् । उनको छायाँकन पक्ष लोभलाग्दो देखिएको छ । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डि एण्ड डि क्रियशनको निर्देशनमा तयार भएको हो । नेपालको चितवनमा जन्मिएका गायक भट्टराईलाई सानैदेखी गायक बन्ने ठूलो सोच थियो ।
देशबाहिर रहेपनि गायक्षेत्रमा सक्रिय भट्टराईले यसअघि ‘चितवनकी कान्छी’, ‘यि ओठ तिम्रा’ लगायतका गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । गायक भट्टराईलाई चितवनकी कान्छी बोलको गीतले गायनक्षेत्रमा परिचित गराएको थियो ।
आगामी एनआरएन क्यानडाको नेतृत्व सम्हाल्न लागेका भट्टराई निरन्तर रुपमा गायनक्षेत्रमा लाग्ने बताउँछन् ।