नायक श्रीकृष्ण श्रेष्ठको स्मृति दिवसको अवसरमा नायिका स्वेता खड्काले घर आँगन, नेपाल नामक सामाजिक संस्थालाई भवन निर्माण सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेकी छिन् । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै स्वेताले अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिँदै आएको घर आँगन संस्थालाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्। स्वेताले उक्त रकम संस्थाका सञ्चालक दीपक सिलवाललाई सहयोग प्रदान गरेकी हुन्।
‘सहयोग गर्न सबै चाहन्छन् तर सामाजिक काम गर्न मन चाहिन्छ । उहाँ (श्रीकृष्ण श्रेष्ठ) ले पनि धेरै काम गर्नु हुन्थ्यो तर केहि न केहि रकम सामाजिक काममा पनि खर्च गर्नु हुन्थ्यो । मैले उहाँको आत्माको शान्तिका लागि र उहाँले राम्रो महशुस गर्नु हुन्छ भनेर नै सामाजिक कार्यमा हात अगाडी बढाएकी हुँ । मैले जुन रकम असहाय बालबालिकालाई प्रदान गरेकी छु यो सहयोग उहाँ (श्रीकृष्ण श्रेष्ठ) को उपहार हो। मलाई यस कारण पनि खुसी लागेको छ कि यस्तो राम्रो दिनमा जग हाल्नका लागि यो उपहार दिँदैछु ।’ स्वेताले भनिन् ।उनले आगामी दिनमा पनि सामाजिक कार्यमा हात अगाडी बढाउँदै जाने बताइन । त्यस्तै कार्यक्रममा उपस्थित हास्यकलाकार दीपाश्री निरौलाले घर आँगन, नेपाललाई स्वेताले प्रदान गरेको रकम असहाय बालबालिकाहरुका लागि सबैभन्दा ठूलो उपहार रहेको बताइन ।
सामाजिक संस्था घर आँगन, नेपालका बालबालिकाहरुलाई यसअघि पनि नायिका स्वेताले नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा न्यानो कपडा वितरण गरेकी थिइन । घर आँगन नामक संस्थाले धुम्बाराहीमा नयाँ भवन बनाउने तयारी थालेको छ, जसका लागि नायिका स्वेताले जग हाल्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । यो संस्थामा अहिले १९ जना असाहय बालबालिका बस्दै आइरहेका छन् ।