वि.सं. २०४२ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’ बाट नेपाली रजतपटमा नायिकाको रुपमा भित्रिएकी करिश्मा मानन्धर आफ्नो समयकी सर्वाधिक सफल नायिकाको रुपमा चिनिन्छिन् । पहिलो चलचित्र ‘सन्तान’ खेल्दा करिश्मा १६ बर्षकी थिइन भने उनले पहिलो चलचित्रमा नै नायक भुवन केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी थिइन । त्यसपछि उनले सयभन्दा बढी नेपाली चलचित्रमा काम गरिन् । उनको सुन्दरता र अभिनयका फ्यानहरु पहिला जति थिए त्यसमा अहिले पनि कमी आएको छैन । केही बर्षदेखी अभिनयबाट टाढै रहेकी करिश्मा उमेरले भने ४२ बर्षकी भइसकेकी छिन् । करिश्मा झण्डै १० महिनादेखी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपाल पार्टीमा पनि सक्रिय छिन् । पछिल्लो समय चलचित्रभन्दा बढी राजनीतितर्फ सक्रिय देखिएकी नायिका करिश्मालाई जसरी पर्दामा रुचाइयो त्यसरी उनले निर्माण गरेका चलचित्रहरु भने सफल भएनन् । यतिसम्मकी आफुले निर्माण गरेको चलचित्र ‘बाबुसाहेब’ असफल भएपछि उनले नेपाली चलचित्रमा नफर्किने भन्दै अमेरिका समेत हानिएकी थिइन । तर, उनी धेरै लामो समय अमेरिकामा टिक्न सकिनन् । अमेरिकाबाट फर्किएपछि भने उनी निरन्तर रुपमा नेपाली चलचित्रमा नै सक्रिय छिन् ।
गएको बर्ष मात्र उनले निर्माण गरेको चलचित्र ‘फागु’ प्रदर्शनमा आएको थियो तर यो चलचित्र पनि असफल रह्यो । चलचित्र निर्माणमा लगातार असफलता हात पार्दै आएकी करिश्माले पुनः अर्को चलचित्र निर्माण गर्न कम्मर कसेर लागिपरेकी छिन् । ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा उनले हाल नयाँ चलचित्रको स्क्रिप्टको काम चलिरहेको बताइन ।
करिश्माले भनिन्, ‘सायद २०१७ भित्रमा नै चलचित्रको काम सुरु हुन्छ । फरक कथावस्तुमा चलचित्र निर्माण गर्दैछु ।’‘बजारमा तपाईले आफ्नी छोरी कवितालाई पनि नायिका बनाउँदै हुनुहुन्छ भन्ने हल्ला चलेको छ नी ?’ भन्ने हाम्रो प्रश्नमा उनले अगाडी थप्दै भनिन्, ‘मैले भित्राउन लागेको त भनेको छैन । सोच चाँहि बनाएको छु र सायद कवितालाई पनि रहर छ जस्तो मलाई लाग्छ । अहिले चलचित्रको काम चलिरहेको छ सायद यही चलचित्रबाट कविता नेपाली रजतपटमा भित्रिन सक्छिन् ।’ उनका अनुसार, कविताले त्यसका लागि तौल घटाउनु पर्नेछ । करिश्माको यो कुरा सुन्दा कविता मानन्धरलाई पनि नायिका बन्ने रहर रहेको बुझ्न सकिन्छ ।
अहिले कविता अध्ययनको शिलशिलामा अमेरिकामा बस्दै आइरहेकी छिन् । यसअघि कविताले गायक सरोज दत्ताको आवाजमा रहेको ‘भैगो’ बोलको म्यूजिक भिडियोमा मोडलिंग गरेकी थिइन ।
भिडियो अन्तर्वार्ताका लागि केही दिन प्रतिक्षा गर्नुहोला ।