केही दिन अगाडी मात्र नायक अनमोल केसीले अभिनय गर्ने नयाँ चलचित्र ‘कृ’ मा नायिकाको रुपमा छनोट भएकी मोडल आदिती बुढाथोकी अहिले भारतको मुम्बईमा छिन् । अनमोलले चलचित्र ‘कृ’ का लागि साइन गरेको दिनबाट नै निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले नायिकाको खोजी सुरु गरेको थियो । नायिका खोजी गर्ने क्रममा निर्माणपक्षले आदितीलाई अनमोलको अपोजिटमा फाइनल गरेको हो । माघ-फागुनतिर छायाँकन आरम्भ हुने बताइएको चलचित्र ‘कृ’ मा फाइनल भएपछि अहिले आदितीको खोजी नेपाली बजारमा व्यापक छ ।
‘कृ’ मा फाइनल भएसँगै आदितीलाई अहिले धेरै निर्माताहरुले नेपाली चलचित्रको अफर गरिरहेका छन् तर हाल आदिती केही भारतीय म्यूजिक भिडियोको छायाँकनका लागि भारतको मुम्बईमा रहँदै आएकी छिन् । विगत ८ महिनादेखी उनी भारतमा छिन् । अभिनय तथा भाषाको प्रशिक्षण, फोटोसेसन, कमर्सियल तथा म्युजिक भिडियोको छायांकन लागि भारतको मुम्बईमा रहेकी आदितीले चाँडै चलचित्र ‘कृ’ को लागि नेपाल आउने बताएकी छिन् । उनले सोनी म्युजिकसँग तीनवटा म्युजिक भिडियोका लागि कन्ट्रयाक्ट साइन गरिसकेकी छिन् । उनले एउटा पञ्जाबी भिडियोमा काम गरिसकेकी छिन् भने एक हिन्दी तथा अर्को एउटा पञ्जाबी म्युजिक भिडियोमा काम गर्ने तयारीमा रहेकी छिन् ।