अनौठो होइन यहाँ झुटको खेती गर्नु । राजनीतिक दलका नेता देखी पछिल्लो समय कलाकर्मीहरुले पनि राम्रै झुटको खेती पालेर बसेका छन् । कसैलाई ढाट्नु र छल्नु अहिले सामान्य भइसक्यो । तर, जसको आवाजमा दुनियाँ पागल छ आज उनले नै झुट बोलेको खबरले सामाजिक सञ्जाल राम्रै तातेको छ । ति अरु कोहि होइनन् गायिका कोमल ओली हुन । लामो समयदेखी रेडियो नेपालमा समाचार वाचिकाको रुपमा सक्रिय कोमल ओली नेपाली संगीतक्षेत्रकी चर्चित लोक गायिका समेत हुन । गएको मंसिर ६ गते राप्रपा नेपाल र राप्रपा एकीकरण घोषणाको दिन कार्यक्रम सञ्चालन गरेकी कोमल ओलीले सोही दिन कमल थापाको हातबाट माला लगाएर राप्रपा प्रवेश गरिन् । त्यसपछि उनको परिचय गायिका र समाचार वाचिकामा मात्र सिमित रहेन । उनी राप्रपा प्रवेश गरेको खबरले नेपाली मिडियाहरु पनि खुबै ताते । त्यसपछि त सामाजिक सञ्जालमा कोमल वलीलाई बधाईको ओहिरो मात्र लागेन मजाक समेत उडाइयो । त्यसपछि त यो विषय सामाजिक सञ्जालमा मात्र सिमिति रहेन । एक ट्विटर प्रयोकर्ताले हेलो सरकारलाई मेन्सन गरेर वलीको पार्टी प्रवेशबारे जिज्ञासा राखे। उक्त जिज्ञासा सञ्चार मन्त्रालय हुँदै रेडियो नेपालसम्म पुग्यो अनि रेडियो नेपालले कोमल वलीसँग स्पष्टिकरण सोध्यो।
जागिर नै धराप पर्ने अबस्थामा पुगेपछि कोमल वलीले स्पष्टिकरण सहितको एक पत्र रेडियो नेपाललाई पठाइन । पत्रमा उनले लेखेकी छिन्, ‘मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक सदस्यता नलिएको ब्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउँदछु। आफू सञ्चारकर्मी भएको नाताले सबै राजनीतिक दलको निम्तो बमोजिम कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने गरेको ब्यहोरा सहर्ष जानकारी गराउँदछु।’
उनले यो पत्र रेडियो नेपाललाई माघ ५ गते पठाएकी हुन । तर, अचम्मको कुरा त यो छ कि रेडियो नेपाललाई पठाएको स्पष्टिकरण पत्रमा उनले कुनै पार्टीको सदस्यता लिएको छैन भनेकी छिन् तर त्यसको दुई दिन नवित्दै कोमल वलीले राप्रपा नेपालका अध्यक्ष कमल थापाको हातबाट शुक्रबार सिधै केन्द्रीय सदस्य मनोनयन पत्र लिइन् । साधारण सदस्य नभई सिधै केन्द्रीय सदस्यमा कोमल वलीलाई मनोनित गरेपछि अहिले राप्रपा भित्रै तिव्र असन्तुष्टि उठेको स्रोत बताउँछन् । शुक्रबार कमल थापाले नायिका रेखा थापा र कोमल वलीलाई एकसाथ केन्द्रीय सदस्यको मनोनित पत्र प्रदान गरेका थिए । रेडियो नेपाललाई आफुले कुनै पनि पार्टीको सदस्यता नलिएको भनेर स्पष्टिकरण सहितको पत्र पठाएपनि शुक्रबारबाट भने कोमल वली राप्रपा नेपालकी पक्का नेतृ भएकी छिन् ।