माघ १ गते शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित नेपाली र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को अन्तिम एल्बम ‘खतरा’ मा समाबेश ‘ताज’ बोलको अडियो गीत सार्वजनिक भएको छ । यमबुद्धले चाँडै नेपाल आएर ‘खतरा’ नामक एल्बममा समाबेश सबै गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेका थिए । यमबुद्धले यो एल्बमलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएका थिए । एल्बमका निर्माता रहेका नास्टी र एलेक्सले उक्त गीतलाई युटयुबमा राखेका हुन । खबरका अनुसार, केही दिन भित्रमा यमबुद्धको सोलो एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘खतरा’ एल्बममा ‘ताज’ को अलवा ‘पैसा’, ‘खतरा’, ‘सपना’, ‘उस्को मन’, ‘अल्लरे ठिटा’, ‘फरक’, ‘अति भो’ र ‘योद्धा’ बोलका गीतहरु समाबेश छन् ।
हाल यमबुद्धको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । गएको वुधबार यमबुद्धको पोष्टमार्टम रिपोर्ट परिवारले प्राप्त गरेपछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भएको बताइएको छ । नेपाली दूतावास लन्डनले यमबुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट (रिप्याट्रीयसन लेटर) उनको परिवारलाई दिइसकेको छ । नेपाली दूतावास लन्डन प्रबक्ता शरदराज आरणका अनुसार, शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन यमबुद्धकी श्रीमति अस्मिता अधिकारी गएको बिहिबार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन् । दूतावासले यमबुद्धको शव उनकी श्रीमतिसंगै लिएर जान मिल्ले गरि डकुमेन्ट तयार गरिदिएको जनाएको छ । परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप कानुनी प्रक्रिया सकिए पछि मात्र नेपाल शव पठाउने तयारी गरेका छन् । पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागूऔषध सेवन गरेको कुनै तथ्य फेला परेको थिइन तर हल्का मादक पदार्थ सेवन गरेको रिपोर्टले औंल्याएको छ।