एकसाथ भदौ ३ गते दुई चलचित्र प्रदर्शन हुँदैछन् । राम्रा भनिएका दुई चलचित्र ‘वीर विक्रम’ र ‘चपली हाईट २’ एकसाथ प्रदर्शनमा आउने भएपछि अहिले दुवै चलचित्रका निर्माताहरु देखी कलाकारहरु प्रचार प्रसारमा राम्रै दौडिरहेका छन् । त्यस्तै प्रदर्शन मिति नजिकदै गर्दा प्रचारलाई आक्रामक बनाएको चलचित्र ‘वीर विक्रम’ मा अभिनय गरेकी नायिका दीया पुन नेपाल आएकी छिन् । अब प्रमोशनमा दौडनका लागि निर्देशक मिलन चाम्सले दीयाको साथ पाउने भएका छन् । नायिका दीया पुन चलचित्र प्रचारका लागि लण्डनबाट नेपाल आएकी हुन् । आज बिहान त्रिभुवन विमानस्थलमा नायिका पुनलाई लिन मिलन आफै पुगेका थिए । निर्देशक चाम्सले दीयालाई ‘वीर विक्रम’ को टिर्सट दिएर स्वागत गरेका थिए । विमानस्थलबाट बाहिरिदै गर्दा नायिका पुनले अबको केही दिन चलचित्र वीर विक्रमको प्रमोशनमा हिँड्ने बताइन । दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दीया पुन अभिनित चलचित्र वीर विक्रममा कमेडी, प्रेम, विछोडको कथा समेटिएको छ ।