पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा हावाबाट विजुली निकाल्ने अभिव्यक्ति दिएपछि त्यस विषयले एकपटक निकै चर्चा पायो । धेरैले ओलीको उक्त कुरालाई मजाकको विषय पनि बनाए भने धेरैले पुरा हुने भन्दै समर्थन पनि गरे । यस्तै एक विषय वस्तुमा नेपाली चलचित्र निर्माण भएको छ । जहाँ आवाजबाट विजुली निकालिनेछ । आवाजबाट विजुली निकालिने विषयमा निर्माण भएको नेपाली चलचित्र ‘विजुली मेसिन’ प्रदर्शनका लागि तयार भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । नविन अवालको निर्देशनमा तयार भएको यो चलचित्रले दुई यूवाले आवाजबाट विजुली कसरी निकाल्छन् भन्ने कुरा देखाउन खोजिएको छ ।
भदौं ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिका छन् भने नायक राजेश हमालको पनि विशेष भुमिका रहेको छ । चलचित्रमा रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी छ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रक्षेत्रका विभिन्न व्यक्ति देखी समाजसेवीहरुलाई नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र यूवा नेता गगन थापाले सम्मान गरेका थिए ।