नेपाली चलचित्रसँगै बलीउड अभिनेत्री प्रियंका चोपडा अभिनित चलचित्र ‘मेरी कोम’ मा समेत काम गरिसकेका सुनील थापा (राते काईला) ले नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । ‘साढे सात’ नाम राखिएको यो चलचित्रमा गायक स्वरुपराज आचार्य र सत्यराज आचार्यको ब्यानर सत्य-स्वरुप इन्टरटेन्मेन्टसँगै मुभी इन्टरटेन्मेन्ट र ब्याक पेपर स्टुडियोजको लगानी रहनेछ । अनौठो त यो छ कि चलचित्रमा जो लगानीकर्ता छन्, उनै चलचित्रको मुख्य भूमिकामा रहनेछन् । कलाकार सुनील थापाले ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा चलचित्र ‘साढे सात’ ले साँझ साढे सात बजे घटेको एक भयानक घट्नालाई देखाउने बताए ।
अहिले यो चलचित्रको वर्कशप चलिरहेको छ । माघ २५ गतेबाट फ्लोरमा जान लागेको यो चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्नेछन् । सस्पेन्स थ्रिलर भनिएको यो चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, शिशिर बाङदेल, सुनिल थापा, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । तराई बेश स्टोरी रहेको चलचित्र ‘साढे सात’ को छायाँकन रुपन्देही, नवलपरासी लगायतका जिल्लाहरुमा हुने चलचित्रका निर्माता एवं कलाकार सुनील थापाले जानकारी दिए ।