नेपाली सिनेमा उद्योगमा एकपटक जे चल्यो त्यसैलाई नै दिव्य मन्त्र मानेर नक्कल गर्ने वा सिक्वेल बनाउने लहर राम्रै भित्रिएको छ । नेपाली चलचित्रको सिक्वेलको विषयमा बेला बखतमा विभिन्न खबरहरु आउने गर्छन । नेपाली बक्सअफिसमा राम्रो पैसा बटुल्न सफल चलचित्रहरुको मात्र सिक्वेल बन्ने गर्छ तर दर्शकहरुले सिक्वेलबाट भने फरक स्वाद अहिलेसम्म पाउन सकेको देखिन्न । पहिलो भागकै धङधङी चलचित्रको सिक्वेलमा देखिएको कारण पनि दर्शकहरुले सिक्वेलमा नयाँपन पाउन सकेका छैनन् । कतिले चर्चाका लागि पनि सिक्वेल तयार गर्ने गरेका छन् ।
नेपाली चलचित्रका सिक्वेलहरुले सफलता हासिल नगरेका भने होइनन् त्यसैले त एक चलचित्रको सिक्वेल हिट भएपछि अर्का निर्माताहरु पनि सिक्वेलको लहरमा जुट्ने गरेका छन् । नेपालमा अहिले सबैभन्दा बढी सिक्वेलमा बनेको चलचित्र हो, ‘नाइँ नभन्नू ल’ । यो चलचित्रको ४ भाग सम्म सिक्वेल बनिसकेको छ भने चारै भागले नेपाली बक्सअफिसमा राम्रो विजनेश पनि गरेको छ ।
‘नाइँ नभन्नू ल’ का सिक्वेलहरु लगातार हिट भएपछि त्यसैलाई पछ्याउँदै अहिले धेरै निर्माताहरु सिक्वेलको पछाडी दौडिरहेको देख्न सकिन्छ । कारण यो पनि छ कि अघिल्लो चलचित्रको ब्रान्ड भ्यालुका कारण प्रमोशन खर्च कम लाग्छ । सिक्वेलप्रति दर्शक तुलनात्मक रुपमा ‘सफ्ट’ हुन्छन् । त्यसैले सुरुवाती व्यापार उत्कृष्ट हुने सम्भावना धेरै रहन्छ । देखिएको पनि त्यस्तै छ । सिक्वेलको नाम दिएर जसरी पछिल्लो समय दर्शक ठग्ने काम भइरहेको छ त्यसले गर्दा पनि पछिल्लो समय सिक्वेलको विश्वसनियतामाथी नै प्रश्न उठ्न थालेको छ । एउटै कथावस्तु तर ब्रान्ड भ्यालुका कारण चलचित्र चलाउन खोज्नु निर्माताहरुले दर्शक ठग्नु हो भन्दा गलत नहोला ।
सिक्वेल आफैंमा नराम्रो होड भने पक्कै होइन । हलीउड र बलीउडमा पनि सिक्वेल निर्माण गरेर निर्माताहरुले राम्रै आम्दानी गरिरहेका छन् । हलिउडमा फास्ट एन फ्युरिस, ट्रान्सफर्मस, पारेट्स अफ द क्यारेवियन, स्पाइडर म्यान र बलीउडमा दबंग, सिंघम, गोलमाल, हाउसफुल, क्रिस, आशिकी, धुमका सिरिजले उधुम मच्चाइरहेका छन् । तर, नेपालमा कमै सिक्वेलले मात्र दर्शकको अपेक्षा पुरा गरेका छन् । सिक्वेल भनिएका कति चलचित्रको कथावस्तु दर्शकहरुले नै बुझ्न सक्दैनन्, जसले सिक्वेल बन्नुको अर्थ नै राख्दैनन् । पहिलो चलचित्रको लोकप्रियताले जसरी सिक्वेलहरु निर्माण हुन्छन्, त्यसमा कथा पनि दमदार रहनु आबश्यक छ । हुनत, हिट भैसकेका चलचित्रको सिक्वेल बनाउँदा दर्शकले पनि संझने भएकाले निर्माताले यस्तो कदम चालेका हुनसक्छन् । फेरि, दर्शकको मुखमा झुण्डिसकेको चलचित्रको सिक्वेल बनाउँदा सानो हल्लाले पनि काम गर्ने उनीहरुको वुझाई छ । सिक्वेल निर्माण अहिले निर्माताका लागि सजिलो बाटो बनिरहेको छ ।
सिक्वेलको होड नेपाली चलचित्त्रबाट भने सुरु भएका होइन । हलीउड र बलीउड चलचित्र हुँदै भित्रिएको यो होड अहिले नेपाली चलचित्रमा राम्रै भित्रिएको छ । चलचित्रमा सिक्वेलको दौड चलिरहेको अबस्थामा सिक्वेलको सुरुवात भने पुस्तकबाट भएको पाइन्छ । सन् १७०० मा जेरी ब्रखेमरले आफ्नो किताब बाइबल स् मोडर्न नोबलको सिक्वेल पहिलो पटक सार्वजनिक गरेका थिए। एकपछि अर्को गर्दै रोबिन्सन क्रस, गुलिभर ट्राभल जस्ता किताबहरुको पनि पहिलो किताबको विषय पछ्याउँदै सिक्वेल बने। किताबमा भित्रिएको सिक्वेलको होडले हलीउड चलचित्र छपक्कै ढाक्यो ।
त्यसपछि हलीउडमा निर्देशक जर्ज मेलिजले पहिलो पटक ‘अ ट्रिप टु द मुन’ को सिक्वेल द इम्पोसिबल वोयज घोषणा गरे । हलीउडमा यिनै चलचित्रपछि सिक्वेलको लहर चल्न सुरु भएको हो । त्यसपछि बलीउडमा भित्रियो त्यही ट्रेन्ड । हलीउड र बलीउड हुँदै भित्रिएको सिक्वेलको ट्रेन्डले अहिले नेपाली चलचित्र क्षेत्र पनि अछुतो रहन सकेको छैन । ‘नाईँ नभन्नू ल’, ‘कुसुमे रुमाल’, ‘हिरो’, ‘दर्पण छायाँ’, ‘सायद’, ‘होस्टेल’, ‘प्रेमगीत’, ‘लुट’, ‘किस्मत’, ‘ए मेरो हजुर’, ‘कबड्डी’, ‘चपली हाईट’ लगायतका सिक्वेलहरु निर्माण भइरहनुले पनि त्यसलाई स्पष्ट पार्छ कि नेपाली चलचित्र क्षेत्रमा पनि सिक्वेलले अब बलियो पकड बनाइसकेको छ । सायद अब यो सिक्वेलको दौडबाट नेपाली निर्माताहरु पनि पछी हट्न सक्दैनन् ।
जसरी अहिले सिक्वेल बनाउने ट्रेन्ड नेपाली चलचित्र क्षेत्रमा भित्रिएको छ त्यसरी नै निर्माणपक्षले दर्शकहरुको मन जित्न पनि आबश्यक छ । सिक्वेलमा एउटै कथाले वाक्कदिक्क भएका दर्शकहरुलाई फरक स्वाद दिन सकेमात्र सिक्वेलको सार्थकता रहनेछ ।