भदौं १० गतेबाट सोलो रिलिजमा उत्रिन लागेको नेपाली चलचित्र ‘शकुन्तला’ को चर्चा अहिले नेपाली बजारमा व्यापक छ । कारण, चलचित्रमा पहिलो पटक नायक राजेश हमाल महिलाको भेषमा प्रस्तुत भएका छन् । अहिलेसम्म पर्दामा डन, प्रहरीको भुमिकामा, गाउँको एउटा सोझो केटो लगायतका भुमिका निर्वाह गरेका राजेशलाई दर्शकहरुले पहिलो पटक महिला बनेको पनि हेर्न पाउने भएका छन् । उनले चलचित्रमा नारीको अवतारमा खतरनाक एक्शन गरेको पनि देख्न सकिनेछ । हाल आफ्नो काम विशेषले अमेरिकामा रहेका राजेश हमालले चलचित्र शकुन्तला आफ्नो लागि पनि प्रतिक्षित रहेको बताएका छन् ।
त्यस्तै चलचित्रका निर्देशक निर्देशक दिनेश श्रेष्ठले चलचित्र शकुन्तला नारी प्रधान चलचित्र रहेको बताए । उनले भने -‘चलचित्रमा राजेश हमाल पहिलो पटक फरक भुमिकामा प्रस्तुत हुन लागेका कारण सबै दर्शकहरु चलचित्र हेर्न आतुर हुनुहुन्छ । सार्वजनिक ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएका कारण शकुन्तला हेर्न हलसम्म दर्शकहरु जानुहुनेछ भन्नेमा ढुक्क छौ ।’ उनले ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा चलचित्रमा राजेश हमालको भुमिका कस्तो छ भनेर खुलाउन चाहेनन् । पहिलो पटक फरक गेटअपमा देखिएका राजेशलाई आफ्नो ‘शकुन्तला’ अवतार कतिको सफल होला त्यो हेर्न भने भदौ १० गते नै कुर्नु पर्नेछ । पछिल्लो समय आफुले अभिनय गरेको चलचित्रबाट सफलताको स्वाद चाख्न नपाएका राजेश हमालको शकुन्तला अवतार हेर्न भने अहिले दर्शकहरु आतुर छन् । चलचित्रलाई रामहरी खत्रीले निर्माण गरेका हुन् ।