नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया मगरको विषयमा हामीले धेरै भनिरहनु पर्दैन । पहिलो पटक ‘डान्स इण्डिया डान्स’ को उपाधि जितेपछि सर्वाधिक चर्चामा आएकी तेरियाले भारतको सबैभन्दा महँगो राशी भएको ‘झलक दिखला जा’ सीजन ९ को पनि ट्रफी जितेपछि त झन उनको चर्चाले आकाश छोएको छ । नेपाल रुपन्देहीको सानो गाउँबाट आफ्नो पाइला चालेकी तेरियाको जीवन शैली अहिले नेपाली आँखाले देखेको भन्दा विल्कुलै फरक भइसकेको छ । अहिले उनी बलीउडका कुनै सेलिब्रेटीभन्दा कम छैनन् । ‘झलक दिखला जा’ को ट्रफी जितेपछि केही दिन अगाडी मात्र नेपाल आएकी तेरिया मुम्बई फर्किसकेकी छिन् । ८ कक्षाको फाइनल परिक्षा दिइरहेकी तेरियाले नेपाल बसाईको क्रममा आफु विश्वमा नै नेपालकी तेरिया भनेर चिनिन चाहेको बताएकी थिइन । नेपाल बसाईको क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफु अहिले करियरकै लागि मुम्बईमा बसिरहेको बताइन । उनले भनिन्, ‘मैले डान्सबाट अझै धेरै कुरा प्राप्त गर्न र सिक्न बाँकी छ । डान्स मेरो प्यासन हो ।’
१० कक्षा पास गरेपछि चलचित्र अभिनयमा पनि लाग्ने सोच बनाएकी तेरियालाई नेपाली नायिका रेखा थापा र प्रियंका कार्की खुबै मन पर्छ भने हिरोमा अनमोल केसी र राजेश हमाल मन पर्छ । उनी थप्छिन्, ‘भारतमा सोनाक्षी सिन्हाको एक्प्रेसनबाट म प्रेरित भएकी हुँ । त्यसपछि माधुरी दिक्षित र दीपिका पादुकोण मन पर्छ भने हिरोमा सलमान खान, शाहरुख खान, आमिर खान र वरुण धवन मन पर्छ ।’
उनले अन्तर्वार्ताको क्रममा बलीउडस्टार सलमान खानले पहिलो भेटमा नै आफुलाई ‘तिमी राम्री छौं’ भन्दा दंग परेको पनि सुनाइन ।‘अभिनय मलाई मन पर्छ । म पक्कै पनि अभिनयमा पनि प्रयास गर्नेछु । म भविष्यमा राम्रो कलाकार बन्न चाहन्छु । म अध्ययनसँग सँगै अभिनयलाई पनि अगाडी बढाउछु । अध्ययन मानिसका लागि निकै आबश्यक छ । १० कक्षा पास गरेपछि अभिनयमा पनि लाग्नेछु । तत्काल फिल्मको अफर आयो भने पनि गर्छु ।’, तेरियाले भनिन् । उनले नेपाली चलचित्रबाट अफर आयो भने पनि काम गर्ने बताइन ।