नेपालमा अनौठो प्रकारको प्रयोग एक नेपाली चलचित्रमा गरिएको छ । साधारणतया नेपाली चलचित्रको घोषणा गर्नु अगावै निर्देशक फाइनल भइसकेका हुन्छन् । किनकी चलचित्रलाई स्तरिय बनाउने जिम्मेवारी निर्देशकको काँधमा हुने भएकाले निर्माणपक्षले सुरुमा नै निर्देशक फाइनल गरेर कथावस्तुमा ‘म्याच’ हुने कलाकारहरु सोही निर्देशकले फाइनल गर्ने गर्छन् । तर, हालै एक चलचित्रमा भने कलाकारहरु फाइनल भएपनि निर्देशक फाइनल नभएको चलचित्रको निर्माण घोषणा गरिएको छ । त्यो चलचित्र हो, ‘रंगीन’ । सोमबार साँझ राजधानीमा एक कार्यक्रमका बीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण हुनेगरी सोमबार चलचित्र ‘रंगीन’ को निर्देशक बाहेक चलचित्रसँग सम्बन्धित सबै क्रियू मेम्बर समेत सार्वजनिक गरिएको छ । यो चलचित्रमा नायिका निशा अधिकारीले दुई नव-नायकसँग एकसाथ स्क्रिन शेयर गर्नेछिन् । मुख्य नायकमा भने नवराज श्रेष्ठ र बाबु भण्डारी फाइनल भइसकेका छन् ।
किरण माईकलको स्क्रिप्टमा बन्ने यो चलचित्रमा पछि अनुबन्धन हुने निर्देशकले स्कृप्ट स्विकार नगर्दै गर्दा के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा निर्माता सुवास थापाले टिम मिल्ने गरी आपसी सहमतीमा त्यो सबै मिलाउने भन्दै निर्देशकको राय सल्लाह मनन हुनेगरी कलाकार र स्कृप्टमाथी रहेर काम गर्ने बताए । निर्देशकको लागी तीन महिनाको अवधी राखिएको छ । उक्त समयमा ईच्छुक जो कोहिले पनि निर्माण टिमसँग सम्पर्क गर्नसक्ने बताईएको छ ।
जेठबाट फ्लोरमा जाने यो चलचित्रमा महादेव त्रिपाठी जादुगर र अजय श्रेष्ठ पनि मुख्य भूमिकामा फाइनल भइसकेका छन् । चलचित्रमा संगीत ताराप्रकाश लिम्बुले भर्नेछन् । शिव बिकले कोरियोग्राफी गर्ने चलचित्रमा विनोद कुमार सिंहले लगानीमा साझेदारी गर्दैछन् । चलचित्रमा नरेन सिंहले खिच्नेछन् ।