यस पटकको फ्राईडे रिलिजमा नायक विराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’ सोलो रिलिजमा उत्रिएको छ । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका विराज भट्ट र नायिका निशा अधिकारीको प्रमुख भुमिका रहेको यो चलचित्रलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । प्रत्येक हप्ता एकै मितिमा एकभन्दा बढी फिल्महरु रिलिज भइरहेको अबस्थामा ‘जय परशुराम’ले भने सोलो रिलिजको मौका पाएको छ ।
यो चलचित्रलाई २०७३ सालको बहुप्रतिक्षित चलचित्रको रुपमा समेत हेरिएको छ । एक समय आफ्नो एक्शन दृश्यले हल हलमा दर्शकहरुको भिड लगाउने विराज भट्टको जय परशुराममा पनि खतरनाक एक्शन देख्न सकिन्छ । नेपालभर करिब ८० बढी पर्दाबाट प्रदर्शनमा आएको जय परशुरामसँगै बलीउडका दुई चलचित्र पनि एकसाथ प्रदर्शनमा आएका छन् । रितिक रोशन अभिनित चलचित्र ‘मोहनजो दाड़ो’ र अक्षय कुमार अभिनित चलचित्र ‘रुस्तम’ पनि एकसाथ नेपाली हलमा प्रदर्शनमा आएका छन् । यि दुई चलचित्रको मल्टिप्लेक्समा राम्रै लडाई हुने देखिएको छ ।