५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायक विराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । करिब ८० बढी पर्दाबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र जय परशुरामको शुक्रबार दिउँसो काठमाडौंमा रहेको कुमारी हलमा प्रेस शोको आयोजना गरिएको थियो । चलचित्रकर्मी देखी पत्रकारहरुको बाक्लो उपस्थिती रहेको प्रेस शोमा सबैले निर्देशक रोज राणा र नायक विराज भट्टको तारिफ गरेका थिए । चलचित्रमा निर्देशक रोजको निर्देशकीय पक्ष र विराजको एक्शन पाटोलाई प्रेस शोमा उपस्थित सबैले तारिफ गरे ।
चलचित्रकर्मी देखी पत्रकारहरुको तारिफ सुनेपछि विराजले ‘सिनेखबर डटकम’ सँगको कुराकानीमा भने -‘मन चङगा भएको छ । सबैले चलचित्र रुचाइदिनु भएको छ ।’ उनले अगाडी थप्दै भने -‘आज मेरो कमब्याक सफल भएको महशुस भयो ।’ एक्शन पाटोलाई विषेश प्राथमिकतामा राखिएको चलचित्रमा नायिका निशा अधिकारी र खलनायकको भुमिका निर्वाह गरेका रविन तामाङको पनि सशक्त अभिनय देख्न सकिन्छ । रोज राणाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रको द्धन्द्ध निर्देशन एन.वी महर्जनले गरेका हुन् । चलचित्रमा एन.वीको द्धन्द्ध निर्देशन स्पष्ट झल्किएको छ । चलचित्र हेरेपछि महर्जनको तारिफ जो कोहीँले गर्छन ।