‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका सिक्स प्याक हिरो आर्यन अधिकारी अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीसँग रोमान्स गरिरहेका छन् । हाल छायाँकनरत चलचित्र ‘बटरफ्लाई’ मा यी दुईको केमेष्ट्री हेर्न पाइनेछ । चलचित्रमा ‘गौतम’ बनेका आर्यन र ‘फर्सा’ बनेकी प्रियंकाको प्रेम ‘सिनेखबर डटकम’ लाई प्राप्त तश्वीरहरुमा पनि स्पष्ट झल्किन्छ । प्राप्त तश्वीरबाट के अनुमान लगाउन सकिन्छ भने आर्यन र प्रियंका चलचित्रमा प्रेमजोडी बनेका छन् । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहलमा छायाँकन सकाएर अहिले निर्माणपक्ष बाँकी छायाँकनका लागि चितवन आइपुगेको छ । चितवनमा चलचित्रको एक दृश्यका लागि आर्यन र प्रियंकाले होली समेत खेलेका छन् । लगभग इन्डक्ल्यापको अन्तिम तयारीमा रहेको यो चलचित्रमा आर्यन र प्रियंकाको अलवा अर्पण थापाको पनि मुख्य भूमिका छ ।
ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ ।
रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहेको छ ।