एकै मितिमा एकभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु अहिले अनौठो होइन । राम्रा भनिएका चलचित्रहरु एकसाथ प्रदर्शनमा आउँदा दर्शकहरु भने अन्योलमा पर्ने गर्छन । कुन चलचित्र हेर्न जाने वा कुन चलचित्र राम्रो होला भन्ने नै दर्शकहरुले छुट्याउन सक्दैनन् । त्यसैले पनि एकभन्दा बढी चलचित्र एकैसाथ प्रदर्शनमा आउँदा महायुद्ध भने हेर्न लायककै हुने गर्छ । त्यस्तै आउँदो भदौ महिनामा नेपाली बजारमा राम्रा भनिएका केही चलचित्रहरु एकै मितिमा प्रदर्शनमा आउँदैछन् भने केही चलचित्रले सोलो रिलिजको मौका पनि पाएका छन् ।
भदौ महिनाको १० र २४ गतेको शुक्रबार रिलिज हुने दुई चलचित्र सोलो रिलिजमा उत्रिदै छन् भने भदौकै अरु मितिमा आउन लागेका चलचित्रहरु एकअर्कासँग लडाई गर्दैछन् । भदौ १० गते राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’ र हास्यकलाकारहरु अभिनित चलचित्र ‘छक्का पन्जा’ सोलो रिलिजमा उत्रिदैछन् । यि दुई चलचित्र भन्दा बाहेक भदौंमा आधा दर्जन बढि फिल्महरु रिलिज हुँदैछन् जुन एकै मितिमा एकभन्दा बढी रिलिजको तयारीमा छन् । भदौ ३ गते ‘वीर विक्रम’ र ‘चपली हाईट २’, भदौ १७ गते ‘बृन्दावन’, ‘ब्रासलेट’ र ‘लालजोडी’, भदौ ३१ गते ‘गाँठो’ र ‘ड्राइभर दाई’ फिल्म रिलिज हुँदैछन् । भदौ १७ गते भने तिन फिल्म एकसाथ रिलिज हुन लागेका कारण अहिले सबैको नजर यही मितिमा छ ।