यसै बर्षको भदौमा प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट २’ र यसको पहिलो भाग ‘चपली हाईट’ निर्माण गरेका निर्माता अर्जुन कुमारले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । अहिले दर्शकले सर्वाधिक धेरै रुचाएका दुई कलाकार सौगात मल्ल र प्रियंका कार्कीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै अर्जुन कुमारले चलचित्र ‘फाटेको जुत्ता’ निर्माण गर्न लागेका हुन । यसअघि यो जोडीलाई दर्शकहरुले ‘श्री ५ अम्बरे’, ‘षडङ्ग’ चलचित्रमा एकसाथ देखेका थिए भने गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘फन्को’ मा पनि सौगात र प्रियंकाले एकसाथ काम गरेका थिए ।
कमेडी कथावस्तुमा निर्माण हुने यो चलचित्रले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने निर्माता कुमारले जानकारी दिए । दर्जनौं म्यूजिक भिडियो र ‘जिन्दगी रक्स’ नामक चलचित्र निर्देशन गरेका निकेश खड्काले यो चलचित्रलाई निर्देशन गर्ने पक्का भइसकेको छ । चलचित्रमा सौगात र प्रियंकाको अलवा मेश्वर चौरासिया, रविन्द्र झाँ, सन्दिप क्षेत्री, वुद्धि तामाङ, रमेश रन्जन झा, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा शंकर थापाको संगीत रहनेछ । निर्माता कुमारका अनुसार, यो चलचित्रको छायांकन अर्को बर्षको बैशाख १५ गतेबाट सुरु हुनेछ ।