गएको सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको चलचित्र ‘छक्का पन्जा’ को ट्रेलरले अहिले यूटयुबमा दर्शकहरुको निकै राम्रो साथ पाइरहेको छ । कमेडी संवादले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको ४ दिनमा साढे ३ लाख भन्दा बढी पटक हेरिसकिएको छ । यो समाचार तयार पार्दासम्म चलचित्र छक्का पन्जाको ट्रेलर हेर्नेको संख्या ३ लाख ७९ हजार ८ सय ५९ जना रहेका छन् । छोटो समयमा ट्रेलरले यतिको संख्यामा भिओर्स पाउनु निकै राम्रो मानिन्छ । ट्रेलरले पाएको यो सफलताले अहिले निर्माणपक्ष उत्साहित देखिएको छ ।
ट्रेलर हेरेपछि अधिकांशले यूटयुबमा कमेडी संवादको तारिफ गर्दै कमेन्ट गरेका छन् । ‘वडा नम्बर ६’ र ‘६ एकान ६’ निर्माण गरेको टिमले तयार गरेको यो चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले संयूक्त रुपमा निर्माण गरेको यो चलचित्र भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा दीपकराज, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।