२७ वर्षीय माओबादीकी पूर्व लडाकु तथा विश्व च्याम्पियन मिरा राईको जीवनमाथी बनेको चलचित्र ‘मिरा’ युटुबमा रिलिज भएको छ । फ्रान्समा १५ जुनमा भएको ८० किलोमिटर अल्ट्रा दौडमा विजयी भएपछि निकै चर्चामा आएकी मिराको जीवनमा आधारित भएर निर्माण भएको ‘मिरा’ ४२ मिनेट लामो छ । यसअघि यो चलचित्र ‘काठमाडौं पर्वतीय फिल्म फेस्टिभल’ मा प्रदर्शन गरिएको थियो । योसँगै चलचित्र ‘मिरा’ ले विभिन्न फिल्म फेस्टिभलहरुबाट अडियन्स च्वाइस अवार्ड लगायतका विधाहरुमा अवार्ड पनि जितिसकेको छ । चलचित्रमा मिरा माओवादी लडाकु भएदेखी अल्ट्रा दौडमा स्वर्ण जितेसम्मको घट्नालाई देखाइएको छ । यो चलचित्रको दर्शकहरुले लामो समयदेखी प्रतिक्षा गरेका थिए ।
मिरालाई नेशनल जोग्राफीले साहसी वर्ष व्यक्ति घोषित समेत गरिसकेको छ । पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय मीरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी उनी विदेश जाने योजनामा काठमाडौं आएकी थिइन् ।
तर, कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेपछि मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता पनि हासिल गरिन् ।