उत्कृष्ट ५ नोमिनेशनपछि चर्को विवादमा परेको ‘आठौं डि सिने अवार्ड’ शनिबार पोखराको एक होटलमा सम्पन्न भएको छ । मनोनयमा नै मनोमानी भएको भन्दै विवादमा तानिएको डि सिने अवार्ड निर्धारित समय भन्दा करिब १ घण्टापछि सुरु भएको थियो । अवार्ड समारोहमा डेढ दर्जन बढी सम्मान बाँडिएको थियो, जसले ‘डि सिने अवार्ड’ अवार्ड नभएर सम्मान कार्यक्रम हुँदै थियो भन्ने महशुस गराउँथ्यो । आयोजक संस्था ‘छायाँ छवि क्रियशन’ले गत साउन ६ गते २६ विधा कायम गरी उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको थियो तर आयोजक संस्थाले कार्यक्रममा अवार्ड र सम्मान लगभग जस्तै गरि प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजुकार राईलाई त्यो कुरा अपाच्य भयो र आफ्नो मन्तव्यको क्रममा उनले आयोजकको चर्को आलोचना गरे । उनले आठौं संस्करणसम्म आइपुग्दा पनि आयोजकले सिक्न धेरै जरुरी रहेको टिप्पणी गरे । अवार्ड कार्यक्रममा निमन्त्रण गरिएका धेरै जसो कलाकारहरुले बारम्बार आफ्नो आगामी चलचित्रको मात्र प्रचार-प्रसार गरेको देखेर आजीत दर्शकसामु अध्यक्ष राईले भने–“अन्तर्राष्ट्रियस्तरमा यस्तो कहीँ हुँदैन, यो फिल्म प्रचार गर्ने स्थल होइन, प्रचारका लागि टीभी, पत्रपत्रिका वा अन्य माध्यम छन् ।” उनले चलचित्रकर्मीलाई पनि सच्चिनुपर्ने सुझाव दिँदै आयोजकले पनि सबैलाई खुसी पार्न अवार्ड र सम्मान बाँडेर कार्यक्रम तन्काउन नहुने बताए । समग्रमा हेर्ने हो भने अवार्ड कार्यक्रम भद्रगोल देखिएको थियो ।
हेर्नुस् कस-कसले जिते ‘आठौं डि सिने अवार्ड’ :-
भद्रगोल कार्यक्रमका बिच बाँडिएको ‘आठौं डि सिने अवार्ड’ को उत्कृष्ट अभिनेता चलचित्र ‘क्लासिक’ बाट आर्यन सिग्देल र सोही फिल्मबाट अभिनेत्री नम्रता श्रेष्ठ बनेका छन् । कार्यक्रममा नम्रता उपस्थित नभएका कारण आर्यनले नै नम्रताको अवार्ड थापेका थिए । ‘क्लासिक’बाटै उत्कृष्ट गायकमा युवराज चौलागाई (हारेहारे…) र सम्पादनमा सुरेन्द्र पौडेलले अवार्ड हात पारे । त्यस्तै उत्कृष्ट निर्देशनको अवार्ड ‘पशुपतिप्रसाद’ बाट दीपेन्द्र के खनाललाई, ‘वडा नं ६’ बाट सह-अभिनेता विधामा जीतु नेपाल, चरित्र अभिनेत्रीमा दीपाश्री निरौला, हाँस्य कलाकारमा केदार घिमिरे, संवादमा दीपकराज गिरी, पाश्र्व संगीतमा एलिस कार्की, उत्कृष्ट पटकथामा खगेन्द्र लामिछाने, खलपात्रमा विपिन कार्की, प्रेम गीतबाट नृत्य निर्देशक विधामा रेमेशा राई, गीतकार कृष्णहरि बराल, गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोखरेलले अवार्ड चुमे । त्यस्तै चलचित्र ड्रिम्सले ३ विधामा अवार्ड हात पार्यो । उत्कृष्ट नव-निर्देशकबाट भुवन केसी, नव-अभिनेत्रीमा साम्राज्य राज्यलक्ष्मीदेवी शाह र छायांकनमा पुरुषोत्तम प्रधान/संजय लामाले अवार्ड पाए । आशिष्मा नकर्मी अर्धकट्टीबाट सह-अभिनेत्री, ‘कबड्डी कबड्डी’ बाट उत्कृष्ट चरित्र अभिनेता पोखरेली माउत्से गुरुङले पाएका थिए । त्यस्तै, नव-अभिनेतामा पल शाह (नाइ नभन्नु लु–४), कथामा सन्तोषकुमार आत्रेय (धौली), द्धन्द्ध निर्देशक हिमाल केसी (भैरव), आइटम डान्समा प्रियंका कार्की (लुटेरा) ले कमश अवार्ड पाए । मोहन निरौला संयोजक रहेको जुरी कमिटीमा पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सवनम मुखिया सदस्य थिए । अवार्ड समारोह सुरुवातमै छायाँ छवि चलचित्रकर्मी रजत सम्मान अभिनेत्री करिष्मा मानन्धरलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै, चलचित्रकर्मी सम्मान निर्माता छविराज ओझा र छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट संचारकर्मी नरेश भट्टराई पुरस्कृत भए ।
त्यस्तै, क्रिटिक अवार्डबाट अभिनेत्री केकी अधिकारी (फन्को), अभिनेता सौगात मल्ल (फन्को) र चलचित्रमा क्रिटिक अवार्डबाट ‘पशुपतिप्रसाद’ सम्मानित हुँदा मष्ट पलुलर सङ अफ दी इयर ‘सुर्के थैली खै’ (वडा नं.६), जुरी अवार्डबाट फिल्म ‘कबड्डी कबड्डी’, पब्लिक च्वाइस अफ दी अवार्डबाट सुदर्शन थापा (प्रेमगीत), इन्करेज्मेण्ट अवार्डबाट कामेश्वर चौरसिया सम्मानित भए। यस्तै, वेष्ट ड्रेस विना घले, वेष्ट एनिमेसन ‘फूलै फूलको मौसम’बाट रमेशमान श्रेष्ठ, वेष्ट स्टारडम अवार्ड निखिल उप्रेती, डायस्पोरा फिल्म अवार्ड रविन आचार्य, चलचित्र सम्मान रमेशचन्द्र राई, निर्मल शर्मा, मौलिक चलचित्रमा धौलीले अवार्ड पायो । उत्कृष्ट ५ मनोनयनमा नै चर्को विवादमा परेको आयोजक संस्थाले अवार्ड वितरणमा भने केही चतुर्याई अपनाएको देख्न सकिन्थ्यो ।