बेलायतमा रहेकी आफ्नी छोरीलाई एक जना बाबुले साउदी अरब ल्याएर थुनेर राखेका छन् । थुन्नुको कारण अचम्मको छ । छोरी अमिना अल जाफरी भन्छिन्, ‘मैले एउटा केटालाई म्वाई खाएकाले बुबा रिसाएर कैद गर्नुभएको हो ।’ बिबिसीका अनुसार बेलायती उच्च अदालतले साउदी अरबमा कैद रहेकी अमिनालाई बेलायत फिर्ता ल्याउने आदेश दिएको छ । २१ वर्षकी अमिनाको जन्म र पालनपोषण बेलायतमै भएको हो ।
उनलाई सन् २०१२ मा बुबा मोहम्मद अल जाफरीले साउदी अरब लगेर राखेका हुन् । अमिनाले आफ्नो इच्छा विपरीत साउदी अरबमा राखेको बताएपनि बुबा मोहम्मदले भने छोरीको जिन्दगी बचाउनका लागि साउदी ल्याएको बताएका छन् ।
अदालतले अमिनाको इच्छा विपरीत र उसको स्वतन्त्रतामा आँच आउने गरी कुनै काम नगर्न र बेलायत फिर्ता ल्याउन आदेश दिएको छ । मोहम्मद र अमिनासँग बेलायत र साउदी अरबको दुबै देशको नागरिकता छ । साउदी अरबले दोहोरो नागरिकतालाई मान्यता दिएको छैन । त्यसैले अदातलको आदेश मोहम्मदले माने मात्र लागू हुनेछ ।