अहिले नेपाली सिनेवृतमा एउटा चलचित्रको नाम निकै चर्चामा छ, त्यो हो ‘समर लभ’ । लेखक सुबिन भट्टराईद्धारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथी आधारित भएर निर्माण हुन लागेको यो चलचित्रको छायाँकन बैशाखबाट सुरु हुँदैछ । झण्डै २ बर्ष अगाडीदेखी चलचित्र ‘समर लभ’ निर्माण हुने खबर बाहिर आएपनि चलचित्रका लागि दुई मुख्य पात्र अतित र साया नभेटिएका कारण काम अगाडी बढ्न सकेको थिएन ।
तर, केही हप्ता अगाडी निर्माण कम्पनी नाईटिंगेल इन्टरनेशनल प्रा.ली.ले एक कार्यक्रमका बीच चलचित्रका अतित र साया पनि सार्वजनिक गर्यो । यो चलचित्रमा तपाईले पुस्तक ‘समर लभ’ मा पढ्दै र सुन्दै आउनु भएको अतितको भूमिका पर्दामा आशिष पियाले निभाउँदै छन् भने बोल्ड सायाको भूमिका रेवती क्षेत्रीले ।
यो प्याकेजमा आज हामी तपाईहरुलाई चलचित्र ‘समर लभ’ मा सायाको भूमिका प्ले गर्न लागेकी रेवती क्षेत्रीको बारेमा जानकारी दिन खोज्दैछौं । रेवती थुप्रै ब्यूटी पेजेन्टकी विजेता हुन । सन् २०१६ को मिस एसिया यूनिभर्सिटी रेवती मिस इन्टरनेशनल भारतकी पनि विजेता हुन । यस्तै, उनले सन् २०१५ को ‘फेमिना मिस इन्डिया’को टप टेनमा पुगेर २ वटा टाइटल पनि जितिसकेकी थिइन् ।
उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन् भने ‘खातुन’ नामक चलचित्रमा काम गर्दैछिन् । ‘समर लभ’ का लागि फाइनल भइसकेकी साया उर्फ रेवती क्षेत्रीको आज हामीले यो प्याकेजमा केही अनसिन तश्वीरहरु पनि प्रकाशन गरेका छौ, जुन तपाईहरुले यसअघि देख्न भएको थिएन । नेपाली मूलकी रेवती भारतमा बस्ने गर्छिन । यतिसम्मकी उनी शुद्ध तरिकाले नेपाली शब्दहरु उच्चारण गर्न सक्दिनन् ।
‘नाई नभन्नू ल ३’ निर्देशन गरेका मुस्कान ढकालले निर्देशन गर्न लागेको यो चलचित्रमा पुस्तकका दुई मुख्य पात्र अनुसार चलचित्रको पात्र छनौट गर्न नसकेको निर्माणपक्षले स्वीकार गरिसकेको छ । चलचित्रका दुई मुख्य पात्र अतित र सायाका तश्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले पुस्तकका पात्र अनुसार चलचित्रका लागि सहि पात्र छनौट हुन नसकेको गुनासो चौतर्फी आइरहेको छ ।
तश्वीरहरु : रेवती क्षेत्रीको इन्स्टाग्राम र फेसबुकबाट