गएको बर्ष नायक निखिल उप्रेतीले चलचित्र ‘भैरव’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरे । उनी सफल नै रहे । त्यसपछि रमेश उप्रेतीले चलचित्र ‘ब्रासलेट’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरेका छन् । उनको यो चलचित्र आउँदो भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । भदौ १७ पछि नै थाहा होला रमेश उप्रेतीको कमब्याक सफल हुन्छ वा हुँदैन भन्ने । त्यस्तै ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका एक्शन नायक विराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’ अहिले नेपालका अधिकांश हलहरुमा प्रदर्शनमा आएको छ । एकै मितिमा चलचित्र प्रदर्शन गर्न तछाड-मछाड हुने अबस्थामा विराजको क्रेजलाई देखेर अरु निर्माताहरुले एउटै मितिमा चलचित्र जुधाउने आँट गरेनन् र चलचित्र ‘जय परशुराम’ सोलो रिलिजमा आयो ।
८० सिनेमा घरहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र ‘जय परशुराम’ ले अहिले सुखद व्यापार गरिरहेको छ । स्रोतको खबरलाई आधार मान्ने हो भने चलचित्रले तिन दिनसम्ममा राजधानी र मोफसल गरेर झण्डै ८५ लाख माथीको विजनेश गरिसकेको छ । यो व्यापारलाई आधार मान्ने हो भने विराजको कमब्याक सफल भएको मान्न सकिन्छ । विराजको एक्शन दृश्यका कारण अहिले सिनेमा घरहरुमा दर्शकहरुको चाप राम्रै छ । वितरक कम्पनीका अनुसार विराजको कमब्याक फिल्म भएका कारण अहिले ‘जय परशुराम’ ले सुखद व्यापार गरिरहेको छ ।
चलचित्र ‘जय परशुराम’ प्रदर्शनमा आएको दिन देखी राजधानीका विभिन्न हलहरुमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्दा उनीसँग सेल्फी खिच्न दर्शकहरुको ठूलै भिड लागेको थियो । जुन हलमा जाँदा पनि विराजले आफ्नो फ्यानको भिड छिचोल्न नसक्दा चलचित्रका अन्य केही कलाकारहरुले उनलाई सहयोग गरेका थिए । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेपनि उनको क्रेज अझै पनि कम नभएको विराज हल हलमा जाँदा दर्शकहरुको भिडले स्पष्ट हुन्थ्यो । अब क्रमश नेपाली चलचित्र गर्दै जाने बताएका विराज आफ्नो कमब्याक फिल्म जय परशुराम सफल भएपछि केही उत्साहित देखिएका छन् । रोज राणा निर्देशित यो चलचित्रमा विराज, निशा अधिकारी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।