पछिल्लो समय ठूला ब्यानरमा बन्ने चलचित्रहरुले निर्माण अगावै आफ्नो रिलिज डेट ‘सुरक्षित’ गर्ने गरेका छन् । यसो गर्दा उक्त मितिमा अन्य चलचित्र रिलिज हुने संभावना निकै न्यून हुने भएका कारण पनि निर्माताहरु चलचित्रको निर्माण अगावै रिलिज डेट घोषणा गर्ने गर्छन । यो भिडबाट नायिका रेखा थापा पनि टाढा रहन सकिनन् । प्राय आफ्नो ब्यानरमा बन्ने अधिकांश चलचित्रहरु दशैंको फुलपातीमा रिलिज गर्ने रेखाले पहिलो पटक तिहारको लक्ष्मी पूजा ताकेकी छिन् । चाँडै फ्लोरमा जान लागेको रेखा थापाको निर्माण र अभिनयमा बन्ने चलचित्र ‘रुद्रप्रिया’ ले अर्को बर्षको भाईटिकालाई लक्षित गर्दै लक्ष्मी पूजाको दिनलाई रिलिज डेट ‘रिजर्भ’ गरेको छ । यसअघि यो चलचित्र नेपालीहरुको महानपर्व दशैंमा रिलिज हुने कुरा थियो तर उक्त मितिमा एक्सन नायक निखिल उप्रेतीको ‘पिँजडा ब्याक अगेन’ आउने फाइनल भएपछि रेखाले तिहार रोजेको स्रोत बताउँछ । खबरका अनुसार, दशैमा छविराज प्रोडक्शनको ब्यानरमा नायिका शिल्पा पोख्रेलको अभिनय र निर्माण रहेको चलचित्र ‘मंगलम’ पनि रिलिज हुँदैछ । सिंगल हलमा राम्रो पकड जमाएका निखिल र शिल्पासँग एकसाथ भिडन्त गर्नुभन्दा रेखाले सुरक्षित बाटो खोज्दै तिहार पुगेकी हुन । तर, तिहारमा पनि उनको यो चलचित्रले सोलो रिलिजको मौका भने पाएको छैन । चलचित्र ‘रुद्रप्रिया’ कार्तिक २ गते हलमा लाग्दैछ भने रमेश उप्रेतीको निर्माण र अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ कार्तिक १ गते रिलिज हुँदैछ । यसरी हेर्दा अब तिहारमा रेखा र रमेश उप्रेती मैदानमा हुनेछन् र आफ्नो पक्षमा दर्शक तान्न राम्रै भिडन्त गर्नेछन् । रेखा फिल्मसबाट बन्ने ‘रुद्रप्रिया’ लाई सुदिप भुपाल सिंहले निर्देशन गर्नैछन् । चलचित्रमा रेखाका अलवा अर्पण थापा र सुदर्शन थापा लिड अभिनयमा रहनेछन् ।