सारङ्गा श्रेष्ठ, नेपाली दर्शकहरुका लागि यो नाम अपरिचित होइन । कुनै समय ‘ए संगीता’, ‘हाम्लाई पनि मायाले हेर पार्वती’ भन्दै ठूलो पर्दामा खुबै जमेकी नायिका सारङ्गा श्रेष्ठ विगत डेढ दशकदेखी अमेरिकामा छिन् । एक छोरी र श्रीमानसँग अमेरिकाको वाल्टिमोरमा बस्दै आइरहेकी सारङ्गा श्रेष्ठले रमेश केसीसँग दोस्रो विवाह गरेपछि चलचित्रको पर्दाबाट गायव नै भईन् । कुनै समय चलचित्रको आइटम गीतमा कुन हिरोइन लिने भन्ने बहस चल्दा सबैभन्दा अगाडी सारङ्गाको नाम आउथ्यो ।
झण्डै २ दर्जन बढी नेपाली सिनेमामा दमदार काम गरेकी सारङ्गालाई अभिनेत्रीभन्दा पनि दर्शकहरुले एक कुशल डान्सरको रुपमा चिन्ने गर्थे । तर, नेपाली मूलका अमेरिकाबासी रमेश केसीसँग विवाह गरेपछि अमेरिका हानिएकी सारङ्गाले पुन नेपाल फर्किए चलचित्र अभिनयमा लागिनन् । अहिले त उनी एक छोरीकी आमा समेत भइसकेकी छिन् । उनै छोरीको लालनपालनमा नै अहिले उनको दैनिकी वित्ने गर्छ ।
उनले सन् २०१२ सम्म भने अमेरिकाका विभिन्न स्टेटहरुमा गएर आफ्नो प्रस्तुत दिने गरेकी थिइन तर छोरीको जन्मभएपछि उनले त्यसलाई निरन्तरता दिन सकेकी थिइनन् । अहिले भने सारङ्गाले अमेरिकाका वाल्टिमोरमा नै एक डान्सिङ स्कूल सञ्चालन गरेकी छिन्, जहाँ उनले नेपाली यूवा-यूवतीहरुलाई डान्स सिकाउँछिन् । हालैमा एक अन्तर्वार्ताको क्रममा सारङ्गाले आफु पारिवारिक कारणले अमेरिका बस्नु परेको बताइन् । उनले भनिन्, ‘परिवारका लागि अमेरिका आएकी थिएँ । अहिले एक छोरी छिन् । उनैको लालनपालनमा व्यस्त छु । नेपाल गएर फेरी दर्शकमाझ आउने ठूलो रहर छ तर सबै सोचे जस्तो पनि हुन्न रहेछ । कुनै बेला कसैकी छोरी थिएँ अहिले आमा भएकी छु । सबैथोक हेर्नु पर्दो रहेछ । अब भविष्यमा छोरीले उतै नेपाल जाने भनिन् भने पक्कै नेपाल फर्किने छौं नभए छोरीको भविष्य पनि हेर्नै पर्यो । तर, बुढेस्काल भने नेपालमै विताउने सोच छ ।’
अमेरिकामा पनि लगातार रुपमा नै नेपाली चलचित्र हेर्दै आइरहेको बताउँदै उनले रेखा थापा, शिल्पा पोख्रेल लगायतका नेपाली नायिकाहरु निकै मन पर्ने बताइन् । त्यस्तै, पर्दामा आफ्नो जोडी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग निकै सुहाउने सारङ्गा बताउँछिन् । उनले आफु करिश्मा मानन्धर, गौरी मल्ल र जल शाहको अभिनयको फ्यान रहेको पनि बताइन । उनले जल शाहको तारिफ गर्दै भनिन्, ‘जल शाहको अभिनयको तारिफ म जति गरेपनि थाक्दिन । उसले डाइलग डेलिभरी गर्नुभन्दा अगाडी नै आँखाले भाव जनाइसकेको हुन्थ्यो । त्यसरी अभिनय गर्ने चाहिँ सायद कमै होलान् । गौरी दिदी र जल शाहमा त्यो छ ।’ ‘भविष्यमा ठूलो पर्दामा आउने वा नपाउने भन्ने कुरा भगवानको हातमा छ’, सारङ्गा भन्छिन्, ‘अब मैले नेपाली चलचित्रमा काम गर्ने भनेको दिदी, भाउजु, आमाको रोल नै हो । त्यस्तो भूमिका भएपनि दर्शकहरुलाई सन्देश दिन खाल्को चलचित्रमा मात्र काम गर्छु ।’
चलचित्र ‘निरमाया’, ‘सुनचाँदी’ मा एक्सन लेडीको भूमिकामा समेत प्रस्तुत भएकी सारङ्गाले आफु ठूलो पर्दामा आए त्यस प्रकारको भूमिका गर्न पनि तयार रहेको बताइन । उनी आफु पलायन भने नभएको दाबी गर्छिन ।
सारङ्गा अमेरिका बसेको सात बर्षपछि यसै बर्षको भदौमा नेपाल आएकी थिइन् । गुपचुप रुपमै नेपाल आएकी सारङ्गा करिब ३ महिना लामो नेपाल बसाईपछि गुपचुपमै अमेरिका हानिइन । भूकम्प गएपछि पारिवारिक भेटघाटका लागि उनी नेपाल आएकी थिइन् । उनले यस बर्षको तिज, दशैं र तिहार ७ बर्षपछि नेपालमा मनाएकी हुन ।