सिंगल हलकी बादशाह भनेर चिनिन्छिन् नायिका रेखा थापा । किनकी उनका अधिकांश चलचित्रहरुले सिंगल हलमा नै धुम मच्चाउने गर्छन । गएको बर्ष ‘रामप्यारी’ रिलिजपछि उनको यस बर्ष कुनै चलचित्र रिलिज भएको थिएन तर यही चैत १८ गते उनी अभिनित चलचित्र ‘पलाँस’ हलमा लाग्यो । आफ्नै ब्यानरमा निर्माण हुने चलचित्रमा मात्र बाक्लै देखिने रेखाले यस बर्ष बाहिरी ब्यानरका चार चलचित्रमा काम गरिन् । ति मध्ये यस बर्ष रिलिज भएको हो चलचित्र ‘पलाँस’ ।
केही बर्षयता बाहिरी ब्यानरमा खासै सफल नदेखिएकी रेखालाई ‘पलाँस’ बाट ठूलै आश थियो । पहिलो पटक फरक भूमिकामा देखिएका कारण पनि रेखालाई लागेको थियो ‘पलाँस’ लाई दर्शकहरुले खुबै रुचाउने छन् र ‘बाहिरी ब्यानरमा चल्दिनन् रेखा’ भन्ने जुन दाग लागेको थियो त्यो पनि मेटाउने कसरतमा थिइन् उनी । तर, ‘पलाँस’ ले उनको त्यो सपना पूरै साकार भने गरेन । वितरक गोविन्द शाहीले दिएको जानकारी अनुसार, चलचित्र ‘पलाँस’ ले प्रदर्शनको ४ दिनमा ९०-९५ लाखको आसपासमा कमाई गरेको छ । तपाईहरुलाई बताइदिउँ कि वितरक गोविन्द शाही ५ लाखको विजनेश गरेको छ भने पनि ५० लाखको व्यापार गर्यो भन्न पछि पर्दैनन् । अब तपाईहरु आफै बुझ्नुहोस् कि रेखा थापाको ‘पलाँस’ले कस्तो व्यापार गर्यो ।
रेखा थापालाई यस पटक चिठ्ठा पनि परेको हो किनकी यसअघि रेखा थापाका चलचित्रहरुले मल्टिप्लेक्समा शो नै पाउँदैन थिए तर ‘पलाँस’ ले भने राजधानीका केही मल्टिप्लेक्समा राम्रै शोज पाएको थियो तर विडम्वना रेखाले मल्टिप्लेक्समा दर्शक तान्न भने असफल रहिन् । वितरक शाहीका अनुसार, सिंगल हलमा भने दर्शकहरुले ‘पलाँस’ लाई राम्रै साथ दिएका छन् ।
अब यसै हप्ताको बिहिवार मात्र यसको टुंगो लाग्छ कि रेखाको ‘पलाँस’ हिट रह्यो वा फल्प । सोलो रिलिजको मौका पाएको ‘पलाँस’ ले देशभरका करिब ८० हलबाट प्रदर्शन आरम्भ गरेको थियो ।
कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाले यस अगाडि निर्वाह नगरेको भूमिका गरेकी छिन् । रेखालाई दर्शकले चलचित्रमा ‘शिक्षिकादेखि कल गर्ल’ सम्मको भूमिकामा देख्न पाउनेछन् । चलचित्रमा अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।