कमै चलचित्रको होला, जसको अडियो गीतले यूटयुबमा लाखौंको भिओर्स पाएको । किनकी दर्शकहरु अडियो भन्दा पनि यूटयुबमा भिडियो गीत हेर्न रुचाउँछन् । तर चलचित्र ‘पुरानो डुङ्गा’को हकमा भने यो उल्टो भएको छ । मंसीर १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको अडियो गीत अहिले यूटयुबमा भाइरल बनिरहेको छ । यूटयुबमा सार्वजनिक गरिएको ३ हप्तामा ‘हो निर’ बोलको गीतले झण्डै १६ लाखको भिओर्स पाएको छ । त्यस्तै ४ हप्ता अगाडी सार्वजनिक गरिएको यही चलचित्रको टीजरको भने साढे ७ लाखको भिओर्स छ । चलचित्रको टीजर भन्दा पनि अहिले यूटयुबमा ‘पुरानो डुङ्गा’को ‘हो निर’ बोलको गीत सुपरहिट बन्दै गएको छ ।
काली प्रसाद बाँस्कोटाको शब्द, संगीत र आवाज रहेको यो गीतको भिडियो भने अहिले नै निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन । महाभूकम्पमा प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’को ‘पिरतीको छाता ओढाउन’ बोलको गीतमा समेत गाएका काली प्रसाद बाँस्कोटाका पछिल्लो समय प्रत्येक गीतहरु सुपरहिट भइरहेका छन् । ‘पिरतीको छाता ओढाउन’ गीत झै चलचित्र ‘पुरानो डुङ्गा’को ‘हो निर’ पनि अहिले चिया पसल देखी रेडियो, टेलिभिजन, स्टेज कार्यक्रमसम्ममा गुञ्जन थालेपछि गायक काली प्रसाद पनि दंग परेका छन् । ‘कबड्डी र कबड्डी कबड्डी’ बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहेको छ ।