पछिल्लो समय नेपालमा करोड माथीका फिल्महरु निर्माण हुन थालिसकेका छन् । सानो भनिएको नेपाली बजारमा ठूलो लगानीमा फिल्म निर्माण गर्ने निर्माताहरु तम्सिएको देख्दा अब चाहिँ चलचित्र क्षेत्रले पनि केही फट्को मार्दै गरेको देख्न सकिन्छ । त्यस्तै एक ठूलो बजेटमा ऐतिहासिक कथामाथी नेपाली चलचित्र निर्माण हुने भएको छ । १५ सय बर्षअघिको मिथिलाका राजा सलहेसको जीवनगाथामा ‘सलहेस : द पिपुल्स हिरो’ नामक चलचित्र निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रका निर्माता राज कुमार महतोका अनुसार चलचित्रको लगानी ३ करोड भन्दा माथीको हुनेछ ।
भोर कम्पनीको ब्यानरमा तयार हुने बताइएको यो चलचित्रलाई अमितेश शाहले निर्देशन गर्न लागेका हुन् । यो फिल्मको प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्वको रुपमा मानिन्छ । उनलाई तराइँको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुज्ने गर्छन । ‘लामो समयको रिसर्चपछि हामीले चलचित्र निर्माण गर्न लागेका हौं’, निर्माता महतोले भने -‘मैले राजा सलहेस र यसका वरी परिका कथामाथी अनुसन्धान गरे । अनुसन्धान गरेपछिको मेरो निष्कर्ष के हो भन्दा यस्तो कथामाथी पनि चलचित्र बन्नु पर्छ ।’ उनले चलचित्रमा कुनै बेला यस्ता महान राजा पनि थिए भनेर देखाउन खोजिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै निर्देशक अमितेश शाहले मिथिला र नेपालको गौरवमा ईँटा थपिने खालको चलचित्र निर्माणमा निर्देशकको भुमिका निर्वाह गर्न पाउँदा खुसी महशुस गरेको बताए । उनले कार्यक्रममा बोल्दै भने -‘यस खोजपूर्ण ऐतिहासिक साँस्कृतिक विषयमा काम गर्दा कुनै पक्षमा कमी रहन नदिन हर सम्भव प्रयास गर्नेछु ।’
६० प्रतिशत भिएफएक्स हुने बताइएको यो चलचित्रको १५ दिन वर्कशप, ६० दिनको छायाँकन र १० महिना पोष्ट प्रोडक्शन सकेपछि मात्र चलचित्र रिलज गर्ने बताइएको छ । चलचित्र मिथिला र नेपाली भाषामा तयार हुनेछ । विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन गर्दा भने चलचित्र ‘सलहेस : द पिपुल्स हिरो’ मिथिला भाषामा हुने तर अंग्रेजी सब-टाइटल राखिनेछ । निर्देशक शाहले यो चलचित्र हिस्ट्रोरिकल, कल्चरल, ड्रामिटिकल र कमर्शियल रहने पनि बताएका छन् । निर्माणपक्षले जारी गरेको विज्ञप्ती अनुसार सिरहाको लाहानदेखि ४ किलोमिटर पश्चिममा राजा सलहेसको नाममा राखिएको सलहेश फूलबारी समेत छ । हरेक बर्षको नयाँ बर्षमा यो फूलबारीमा फूल फूल्ने गर्दछ । वैशाख १ गते लाग्ने ठूला मेलामा नेपाल र भारतका लाखौ मानिस यहाँ पुग्ने गरेका छन् । यही कथालाई पर्दामा उतार्न लागिएको हो ।
हालसम्म चलचित्रका लागि कुनै पनि कलाकार फाइनल नभएको निर्माता राजकुमार महतोले जानकारी दिएका छन् । उनले भने -‘यो ऐतिहासिक फिल्म भएकाले यसमा अभिनय गर्ने चरित्रहरु पनि ति पात्रहरुसँग मिल्नु पर्छ । त्यसैले फिल्ममा रहने प्रत्येक पात्रहरुको स्केचिङ प्रश्चात त्यस अनुसारको कलाकार अडिसन मार्फत छनौट गर्ने छौ ।’ उनका अनुसार चलचित्रका लागि कलाकारहरुको अडियन नेपाल र भारतमा हुनेछ । चलचित्रमा कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया, पटकथा अमितेश शाह, संगीत सुनिल र प्रवेश, गीत डा.राजेन्द्र विमल, अशोक दत्त र ईश्वर दाहाल, छायाँकन पुरुषेतम प्रधान, भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्ड अनुपम शाहको रहनेछ । चलचित्रको छायाँकन सुरु हुन अझै ६ महिना लाग्ने निर्माण पक्षले बताएको छ । चलचित्रमा सलहेस, रेशमा, कुसमा र दौना, चूहडमल, चन्द्रावती, करिकन्हा, मोतीराम, वुधेसर, सुगाहिरामन, अन्हेरबाँट, केबला किराँत लगायतका पात्रहरु रहनेछन् ।