अबको केही दिनमा नै २०७४ ले पाइला टेक्नेछ र २०७३ सधाका लागि टाढिनेछ । २०७४ मा के गर्ने होला भनेर सायद अहिलेदेखी नै धेरै व्यक्तिहरुले प्लान बनाइसकेका छन् । कति घुम्न जाने तयारीमा छन्, कति आफन्तसँग भेटघाट गर्ने सोच बनाइराखेका छन् भने कति नयाँ चलचित्र हेरेर नयाँ बर्ष मनाउने मनसाय पनि बनाइरहेका छन् । तर, यस पटकको नयाँ बर्षमा चलचित्र हेर्ने सोच बनाइराख्नु भएको छ भने कुन चलचित्र हेर्ने दोधारमा भने पक्कै पर्नुहुनेछ । किनकी बैशाख १ गते तीन प्रतिक्षित चलचित्र हलमा लाग्दैछ । लामो समयदेखी दर्शकहरुको प्रतिक्षामा रहेको चलचित्र ‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ बैशाख १ गतेबाट हलमा लाग्ने उपहार हुन । यी तीन उपहार मध्ये दर्शकहरुलाई कुन मन पर्छ त्यो त अबको एक हप्तामा नै थाहा हुनेछ ।
यस पटक दर्शकहरुका परिचित अनुहारहरुकै भिडन्त नयाँ बर्षमा हुँदैछ । नायकतर्फ ‘राधे’मा निखिल छन् भने ‘घामपानी’ मा दयाहाङ राई र ‘लभ लभ लभ’ मा नव-नायक सुरज पाण्डे । परिचित दुई नायकको भिडमा दर्शकहरुका लागि ‘लभ लभ लभ’ का नायक सुरज पाण्डे नयाँ नाम हो । हामीले प्राय नायक-नायकबीचको भिडन्तको विषयमा कुरा गर्दै आइराखेका छौं तर यसपटक बैशाख १ गते रिलिज हुने ३ चलचित्रका ३ नायिकाको भिडन्तको विषयमा कुरा गर्दैछौं ।
चलचित्र ‘घामपानी’ मा दयाहाङ राईको जोडी बनेर नायिका केकी अधिकारी देखिँदैछिन् भने ‘राधे’ मा निखिल उप्रेतीकी ‘प्रिया’ बनेर प्रियंका कार्की । त्यस्तै, ‘लभ लभ लभ’ मा नव-नायक सुरज पाण्डेको अपोजिटमा नायिका स्वस्तिमा खड्का छिन् । यी तीन नायिका मध्ये प्रियंका र केकी दर्शकहरुका परिचित अनुहार भएपनि स्वस्तिमा भने नयाँ हुन सक्छिन् । तर, उनले यसअघि चलचित्र ‘होस्टेल रिटन्र्स’ मा भने काम गरिसकेकी छिन् । दर्शकहरुमा परिचित दुई चर्चित नायिकासँग लड्नु स्वस्तिमाका लागि सहज भने छैन तर ‘लभ लभ लभ’ दीपेन्द्र के. खनाल निर्देशित भएका कारण यो चलचित्रले अन्य दुई चलचित्रलाई राम्रै टक्कर दिने अनुमान भने लगाइएको छ । त्यस्तै, एकअर्कासँग खुबै मिल्ने केकी अधिकारी र प्रियंका कार्की पनि सायद यो पहिलो पटक हो, जो भिन्न-भिन्न चलचित्रबाट एकसाथ मैदानमा भिडन्त गर्दैछन् । यी तीनै अनुहार नेपाली चलचित्र क्षेत्रका संभावना बोकेका नायिकाहरु हुन । केकी र प्रियंकाले आफ्नो स्थान बनाएपनि स्वस्तिमा भने ‘लभ लभ लभ’ बाट आफ्नो बलियो उपस्थिती जनाउने तयारीमा छिन् ।
यसले पनि दर्शकहरुमा कुन चलचित्र हेरेर नयाँ बर्ष मनाउने भन्ने निर्णय लिन मुश्किल परिरहेको छ । दुई चलचित्र ‘राधे’ र ‘घामपानी’ मा स्टार कलाकारहरुको अभिनय छ भने ‘लभ लभ लभ’ लाई ‘पशुपतिप्रसाद’ निर्देशन गरेका दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्, यसैले पनि नयाँ बर्षमा तीन चलचित्रको भिडन्त निकै दमदार हुनेमा शंका छैन । अब दर्शकहरुको भिड भने कता लाग्ने हो त्यो त केही दिनमा नै थाहा हुनेछ ।