निरुता सिंह, जल शाह, शुशिल क्षेत्री, अरुणीमा लम्साल, विपना थापा, पुजा चन्द, उत्तम प्रधान, सज्जा मैनाली लगायतका दर्जन बढी नेपाली कलाकारहरुले एकसमय नेपाली चलचित्रमा राज गरेका थिए । त्यो समय उनीहरुलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरु पनि महिनौं लाइनमा बस्थे । तर, अहिले न उनीहरु नेपाली चलचित्रमा छन् नत उनीहरुलाई निर्माताहरु नै फर्काउन चाहन्छन् । किनकी अहिले समय परिवर्तन भइसकेको छ । कुनै समय उत्तम प्रधान जस्ता कलाकारहरुको चलचित्र हेर्न मरिहत्ते गर्ने दर्शकहरु अहिले अनमोल केसीको चकलेटी अनुहारमा फिदा छन् । जब नेपाली चलचित्रमा नयाँ अनुहारहरु क्रमश भित्रिदै गए तब हराउँदै गए पुराना कलाकारहरु पनि । अहिले तपाईहरुले आजभन्दा १० बर्ष अगाडी चलचित्रमा देख्नु भएका अधिकांश कलाकारहरु त पलायन नै भइसकेका छन् भने केही अझै पनि फाट्ट फुट्ट चलचित्रमा काम गरिरहेका हुन्छन् ।
यस्तै एक समय आफ्नो छुट्टै क्रेज बनाएका नायक हुन दीलिप रायमाझी । यादब खरेलले निर्देशन गरेको ‘आदीकबि भानुभक्त’ बाट डेब्यु गरेका दीलिप ‘दर्पण छायाँ’ रिलिजपछि यति ब्यस्त भए कि उनले एकै वर्षमा नौवटा चलचित्रको सुटिङ समेत गर्न भ्याएका थिए । त्यस बेला उनले अभिनय गरेका प्राय सबै चलचित्रहरुले नेपाली बजारमा राम्रै धुम मच्चाउने गर्थ्यो । उनको अभिनयका दिवाना अझै पनि लाखौं छन् । उनलाई दर्शकहरु पर्दामा हेर्न चाहिरहन्छन् तर पछिल्लो समय उनका चलचित्रहरु दर्शकहरुले कमै मात्र हेर्न पाएका छन् ।
एकसमय दीलिपको चलचित्र हेरेर खुलेरै तारिफ गर्ने दर्शकहरुलाई अहिले भने उनका चलचित्र हलमा लागेको समेत पत्तो हुँदैन । हुनत, उनका समकक्षी कलाकारहरु अधिकांश विदेश पलायन भइसकेका छन् तर दीलिप भने फाट्ट फुट्ट नेपाली चलचित्रमा काम गरिरहेका हुन्छन् । श्रीमती र एक छोरीसहित अहिले दीलिप पनि अमेरिकामा छन् । केही महिना अगाडी मात्र उनले चलचित्र ‘चर्खा’ मा काम गरेका थिए । दीलिपले फाट्ट फुट्ट नेपाली चलचित्रमा काम गरेपनि उनका चलचित्रले अहिले नेपाली बक्स अफिसमा कमाल गर्न छोडिसकेका छन् । त्यसको ज्वलन्त उदारहणहरु ‘उहीले बाजेको पालामा’, ‘अग्नी’, ‘विधवा’ लगायतका चलचित्रहरु हुन, जसले दर्शकहरुको अनुहार नै हेर्न नपाई उत्रिए ।
एक समय मितिनी, देशदेखी विदेश, बादल पारी, दर्पण छायाँ, मेरी आमा, बन्धकी, लहना, हामी साथी भाई लगायतका दर्जन बढी चलचित्रहरुले दीलिपको करिअरलाई माथी उठाउन ठूलै मद्दत गरेको थियो । तर, केही बर्षयता राम्रो कथावस्तु र राम्रो ब्यानर छान्न नसक्दा आफ्नै क्रेज पनि जोगाउन गाह्रो परिरहेको छ दीलिपलाई । लगातार पछिल्ला केही चलचित्रहरुमा कमजोर भूमिकामा प्रस्तुत हुनुले पनि अहिले दीलिप प्रति हेर्ने दर्शकहरुको दृष्टिकोणमा परिवर्तन आइसकेको छ । जसरी एकसमय दीलिपका चलचित्र हेर्न दर्शकहरु मरिहत्ते गर्थे अहिले दीलिपका चलचित्र हेर्नका लागि तिनै दर्शक नाक खुम्चाउने गर्छन । कारण एउटै हो दीलिपले राम्रो कथावस्तु छान्न नसक्नु । जो कोहिँले अफर गर्यो भने पनि ‘हस्’ भन्ने परिपाटीले दीलिपलाई अहिले सस्तो बनाइरहेको छ । कुनै दिन दीलिपलाई आफ्नो चलचित्रमा लिनका लागि महिनौं कुर्ने निर्माताहरु अहिले उनको नाम सम्झन पनि चाहन्नन् । त्यसैले त, अहिले दीलिपको दैनिकी हेर्दा यस्तो लाग्छ उनी गुणस्तरको पछि होइन संख्या बढाउन दिलोज्यान दिएर लागिपरेका छन् । यतिसम्मकी दीलिपको खस्कदो क्रेज देखेर पाका निर्देशक तुलसी घिमिरेले समेत उनलाई ‘दर्पण छायाँ २’ मा लिने आँट गरेनन् जबकी ‘दर्पण छायाँ’ मा दीलिपको मुख्य भूमिका थियो । विस्तारै आफ्नो स्टारडम कमजोर बन्दै जानुमा दोषी अरु होइनन् दीलिप आफै हुन् । अब प्रश्न यो रहन्छ कि खस्कदै गएको क्रेजलाई दीलिपले बचाउन सफल होलान् ? त्यो त अब समयले नै देखाउनु छ तर जसरी अहिले दीलिपले संख्या बढाउनका लागि चलचित्रमा काम गरिरहेका छन् त्यसले उनको करिअर माथी उठाउन भने मुश्किल छ ।