अबको एक हप्ता नवित्दै हामीबाट २०७३ ले विदा लिनेछ र २०७४ सुरु हुनेछ । २०७३ मा नेपालमा धेरै घट्ना घटे भने केही राम्रा कामहरु पनि भए । देशमा ओली सरकारले विदा मागेर प्रचण्ड सरकार भित्रियो, मूल्यवृद्धिले आकाश छोयो, काठमाडौं लगायतका धेरै जिल्लाहरु लोडसेडिंग मुक्त भए, डा. गोविन्द केसीले पुन: अनसन बसे लगायत-लगायत । तर, देशले २०७३ मा त्यस्तो ठूलो फड्को भने मारेन । यस्तै, २०७३ मा नेपाली चलचित्र क्षेत्रको कुरा गर्ने हो भने त्यस्तो उल्लासमय वातावरण बन्न सकेन । किनकी ७ दर्जन बढी रिलिज भएका नेपाली चलचित्रहरु मध्ये एक दर्जनले पनि मश्किलले आफ्नो लगानी सेभ गरे । ‘छक्का पन्जा’ ले १६ करोड कमायो भने ‘गाजलु’, ‘वीर विक्रम’, ‘चपली हाईट २’, ‘जात्रा’, ‘पुरानो डुंगा’ लगायतका केही चलचित्रले करोड खल्तीमा हाले । नभए झण्डै ६ दर्जन बढी सिनेमाले त पानी पनि भन्न पाएनन् । बर्षको सुरुवात ‘हाऊ फन्नी’ र ‘बाटो मूनीको फूल २’ बाट भएको थियो भने अन्त्य ‘अपरिचित’ बनेको छ ।
आज हामीले यिनै ७ दर्जन बढी रिलिज भएको नेपाली चलचित्रमा काम गर्ने नायकहरु मध्येबाट उत्कृष्ट ५ नायकको सूची तयार पारेका छौं ।
१. दयाहाङ राई
यो बर्ष यदी कुनै कलाकारको सबैभन्दा बढी चलचित्र हलमा लागेको थियो भने ति नायक हुन दयाहाङ राई । बर्षको सुरुवातमा रिलिज भएको ‘हाऊ फन्नी’ देखी चैत ११ गते रिलिज भएको ‘लप्पन छप्पन’ सम्म आइपुग्दा उनका ७ वटा चलचित्र हलमा लागे । ति मध्ये ‘लुट २’,’पुरानो डुंगा’ र ‘वीर विक्रम’ ले करोडमाथीको विजनेश गर्यो भने बाँकी चलचित्रबाट उनले मात्र आलोचना खेपे । यस बर्ष दयाहाङलाई गुणस्तरिय चलचित्र भन्दा पनि संख्या बढाउन चलचित्रमा काम गरेको आरोप पनि खुबै लाग्यो । तर, जे होस यस बर्ष ३ चलचित्र करोड क्लबमा पुराउने दयाहाङ राई पहिला व्यक्ति बनेका छन् । यस कारण पनि उत्कृष्ट ५ नायकको सूचीमा दयाहाङ राई पहिलो नम्बरमा परेका छन् ।
२. अनमोल केसी
गएको बर्ष झै यस बर्ष पनि नेपाली चलचित्र क्षेत्रमा नायक अनमोल केसीको राम्रै बोलबाल चल्यो । प्रत्येक बर्ष एक मात्र चलचित्र लिएर हल छिर्ने अनमोलको यस बर्ष ‘गाजलु’ हलमा लागेको थियो । सोचे जस्तो दमदार कमाई गर्न नसकेपनि ‘गाजलु’ ले निर्माता रोहित अधिकारीलाई भने गाडी नै चढायो । यो भन्नुको अर्थ चलचित्र ‘गाजलु’ ले घरेलू बजारबाट २ करोडको विजनेश गरेको बताइन्छ । करोड आसपासमा बनेको यो चलचित्रले २ करोड कमाएपछि बर्षको हिट चलचित्रमा मात्र सूचिकृत भएन नायक अनमोल केसी पनि उत्कृष्ट ५ नायकको २ नम्बर सूचीमा उभिएका छन् ।
३. सौगात मल्ल
नायक सौगात मल्लका लागि यस बर्ष निराशाजनक रह्यो । उनको यस बर्ष ‘लुकामारी’ देखी ‘लप्पन छप्पन’ सम्म रिलिज भए तर ति मध्ये ‘लुट २’ ले मात्र दमदार विजनेश गर्न सफल भयो, अरु बाँकी सबै फल्पको सूचीमा दर्ता भए । तर, उनले विभिन्न चलचित्रमा निर्वाहा गरेको भूमिकाको चर्चा भने गत बर्ष झै यस बर्ष पनि खुबै भयो । यस बर्ष सौगात मल्ल बक्सअफिसमा खरो उत्रिन नसकेपनि अभिनयको चर्चाका कारण उनी पनि उत्कृष्ट ५ नायकको तेस्रो श्रेणीमा सामेल भएका छन् ।
४. निखिल उप्रेती
यस बर्ष नायक निखिल उप्रेतीका लागि सबैभन्दा खराब बर्ष बन्न पुग्यो । रिलिज भएका दुई चलचित्र ‘किंग’ र ‘निर्भय’ ले दर्शक हेर्न नै नपाई हलबाट उत्रिए । २०७३ मा एकदिन पनि खाली नबसी एकपछि अर्को चलचित्रमा काम गरेपनि हलमा भने निखिलको स्टारडमको कुनै पावर देखिएन । यस बर्ष सबैभन्दा कमजोर कलेक्शन गर्ने अभिनेताको श्रेणीमा निखिल उभिएपनि उनको चर्चा भने २०७३ मा राम्रै भयो । यस कारण पनि उनी यस बर्षको उत्कृष्ट ५ अभिनेताको चौथौं खुड्किलोमा उभिएका छन् ।
५. आयुष्मान देशराज श्रेष्ठ
‘सिनेखबर डटकम’ को यस बर्षको उत्कष्ट ५ नायकमा आयुष्मान देशराज श्रेष्ठ पनि अटाएका छन् । उनी अभिनित चलचित्र ‘चपली हाईट २’ यस बर्ष रिलिज भएको थियो । चलचित्रले करोडको विजनेश गरेको खबर छ । यो चलचित्रमा गरेको कामको चर्चाले नै आयुष्मान यस बर्ष राम्रै छाए । पहिलो पटक ‘चपली हाईट २’ मार्फत ठूलो पर्दामा इन्ट्री मारेका आयुष्मानको कामको तारिफ चौतर्फी भएका कारण नै उनी यस बर्षको उत्कृष्ट ५ नायकको पाँचौं नम्बरमा सहभागी भएका छन् ।