नेपाली चलचित्रमा पाइला टेक्ने हरेक नव-कलाकारहरु आफुलाई स्थापित गराउन हर संभव प्रयास गरिरहेका हुन्छन् । कतिको प्रयास एउटै चलचित्रबाट साकार हुन्छ भने कतिको एउटै चलचित्रले चकनाचुर बनाइदिन्छ । यस्तै भिडकी एक नायिका हुन रजनी केसी । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लोफर’ मा मुख्य भूमिका निर्वाह गरेपछि नेपाली चलचित्रमा भित्रिएकी रजनीको पहिलो चलचित्र नै फल्प भयो । त्यसपछि रजनीतिर निर्माताहरुले आँखा डुलाएनन् तर उनीमाथी नजर पुग्यो चलचित्र ‘परदेशी’ निर्देशक नारायण रायमाझीको । ‘लोफर’ पछि उनले चलचित्र ‘परदेशी’ मा काम गरिन्, जुन चलचित्रले नेपाली बजारमा राम्रै तहल्का पिट्यो । ‘परदेशी’ हिट भएपछि रजनी हिट नहुने त कुरै भएन । त्यसपछि उनलाई चलचित्रको बाढी नै लाग्न थाल्यो । यहि बीच उनले दुई चलचित्र साइन गरिन् ‘लालजोडी’ र ‘ब्रासलेट’ । रजनीलाई आश थियो यी दुई चलचित्र मध्ये एक चलचित्र त कसो हिट नहोला तर रजनीले सोचेको भन्दा विल्कुलै विपरित आयो परिणाम । यी दुवै चलचित्र फल्प भए । यतिसम्मकी यी दुवै चलचित्र एकैमितिमा रिलिज भएका थिए । ‘परदेशी’ ले चम्काएको रजनीको करियरलाई ‘लालजोडी’ र ‘ब्रासलेट’ ले नराम्रैसँग थन्काएको छ ।
प्राप्त खबरका अनुसार, अहिले रजनी एपि वान टेलिभिजनबाट प्रशारण हुन लागेको हास्यटेलिश्रखला ‘१० टू ५’ मा देखिँदैछिन् । यो टेलिश्रखलालाई निर्मल शर्माले निर्देशन गर्दैछन् । एक हिट र तीन फल्प चलचित्र आफ्नो नाममा दर्ता गराइसकेकी रजनीलाई अहिले नेपाली निर्माताहरु आफ्नो चलचित्रमा लिएर जोखिम मोल्न चाहेको देखिन्न । क्रमशः नेपाली चलचित्रमा नयाँ अनुहारहरुको आगमन भइराख्नुले पनि अहिले रजनीलाई आफ्नो स्थान जोगाउन नै मश्किल परिरहेको छ । रजनीले टेलिसिरियल काम गर्नुले नै यो स्पष्ट पार्छ कि उनको करियर अहिले कुन बाटोमा दौडिरहेको छ ।
अब उनको ‘दीपज्योती’ र ‘चर्खा’ नामक दुई चलचित्र प्रदर्शनको तयारीमा छन् । यदी यी दुई चलचित्रले धमाकेदार व्यापार गरे त ठिकै हो नभए रजनीले आफुलाई नेपाली चलचित्रमा टिकाइराख्न सोचे जस्तो सजिलो भने नहोला ।