केही बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘मञ्जरी’ पक्कै हेर्नुभयो भयो होला । यदी हेर्नुभएको छ भने पक्कै पनि चलचित्रमा फोहोरी केटो बनेर अभिनय गरेका गौरव पहारीलाई पनि याद गर्नु भएको होला । मञ्जरीमा फोहोरी केटो भएर सबैको मन जितेका गौरव अब लगालग अन्य चलचित्रमा भिलेनको भुमिका निर्वाह गर्दैछन् । हेमराज विसीले निर्देशन गर्न लागेको चलचित्र ‘ग्याङ्स्टर ब्लुज’मा भिलेनको भुमिका निर्वाह गर्न लागेका गौरवको हातमा अर्को चलचित्र पनि परेको छ, त्यो हो ‘मरिना’ । अब उनले यो चलचित्रमा पनि भिलेनको भुमिका निभाउने चलचित्रका प्रस्तुतकर्ता श्याम अर्यालले जानकारी दिए । मरिनामा भिलेनको भुमिका गर्न लागेको खुलाउँदै नायक पहारीले भने -‘मलाई अहिले भकाभक भिलेनको भुमिका निर्वाह गर्नु पर्ने चलचित्रहरु आइरहेका छन् । मरिनामा आफ्नो भुमिका उत्कृष्ट लागेका कारण चलचित्र गर्ने निर्णय गरेको हुँ ।’ मञ्जरी चलचित्रपछि अन्य चलचित्रबाट खासै चर्चा पाउन नसकेका गौरवले केही महिना अगाडी रिलिज भएको चलचित्र गाजलुबाट भने राम्रै तारिफ बटुले । गौरवले अब चलचित्र मरिनामा नायक आर्यन सिग्देलसँग लड्नु पर्नेछ ।