एकै परिवारका ५ जनाको ज्यान लिनेगरी भएको टिम्बुरे हत्याकाण्डमा बँचेकी मनु दुलाल (प्रशार्इँ)को आइतबार निधन भएको छ । मनुको अमेरिकाको न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा निधन भएको हो ।
वि.सं.२०५० सालमा पाँचथरको लुङरुपा–९, टिम्बुरेमा एकै परिवारका पाँच जनाको विभत्स हत्या भएको थियो । सो हत्याकाण्डमा मनुका बाबु कुवेर दुलाल, आमा सरस्वती, भाइहरु उमेश र उद्धव, बहिनी कृष्णगरी ५ जनाको हत्या भएको थियो । हत्याकाण्डमा बँचेका ज्ञानु र मनुमध्ये मनुको आइतबार निधन भएको हो । मनु डाइभरसिटी भिसा (डिभी)मार्फत सन् २०१४ मा श्रीमान् नरेश प्रसार्इँ, ११ वर्षीय छोरा निसम र ५ वर्षीया छोरी निष्ठासहित अमेरिका पुगेकी थिइन् ।
जानकारहरुका अनुसार टिम्बुरेका कुवेर (दुलाल)लाई छिमेकी नांगिन गाविस वडा नं. ३ सेजेपामा मारिएको थियो । त्यस्तै उनकी श्रीमती सरस्वती, छोरा–छोरी, उमेश, उद्वव र कृष्णलाई घरैमा खुकुरी प्रहारगरी एकसाथ हत्या गरिएको थियो । अन्वेषक तथा लेखक डा. देवी क्षेत्री दुलालका अनुसार पारिवारिक राजनीतिक इगोका कारण टिम्बुरे हत्याकाण्ड भएको थियो ।
लामो समयसम्म हत्याकाण्डका दोषी पत्ता नलागेपछि दुलाल परिवारका आफन्तले अनुसन्धान टोलीको साथमा कुकुर ल्याएर अनुसन्धान गरेका थिए । अनुसन्धानमा खटाइएको कुकुरले कुवेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलालसहित ८ जनालाई समातेको थियो । जसमा मणि, धर्म र युवराज दुलाल तथा विष्णु र कृष्ण दाहाल, दुर्गा नेम्बाङलगायत पनि थिए ।
पक्राउ परेका ७ जनाले आफूहरुलाई ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउँन लगाएको बयान थिएका थिए भने ओमनाथले पनि पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए । हत्या गराएको स्वीकारेपछि अदालतले सबैलाई जनही २० वर्षको कैद सजाय सुनाएको थियो । उनीहरु ३ वर्षअघि कैद भुक्तानगरी जेलबाट छुटेका छन् ।
सो हत्याकाण्ड भएको बेला मनु नांगिन–५, स्थित पिपलवोटे उच्च माविमा पढ्थिन् भने ज्ञानु आफन्तको घर इटहरी गएकी थिइन् । त्यसैले हत्याकाण्डबाट मनु र ज्ञानु बँच्न सफल भएका थिए । निर्मम र विभत्स उक्त हत्याकाण्ड टिम्बुरे हत्याकाण्डको नामले अझै चर्चित छ ।
-सरल पत्रिका