पछिल्लो नेपाली सिने बजार हेर्ने हो भने एकै मितिमा एकभन्दा बढी चलचित्र प्रदर्शनमा आइरहेका छन् । कमै चलचित्रले होलान् जसले सोलो रिलिजको मौका पाएका । केही बर्षदेखीको कुरा गर्ने हो भने नायक अनमोल केसी, निखिल उप्रेती, रेखा थापा लगायतका केही स्टार कलाकारको फिल्मसँग अन्य निर्माताहरु आफ्नो फिल्म जुधाउने हिम्मत गर्न सक्दैनन् । त्यस्तै भदौ १० गते पनि राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’ सोलो रिलिजमा आउँदैछ । पहिलो पटक पर्दामा महिलाको भेषमा अभिनय गरेका राजेश हमाललाई आफ्नो अभिनित चलचित्र ‘शकुन्तला’ सोलो रिलिजमा उत्रिनु ठूलो अवसर हो ।
भदौमा ‘शकुन्तला’ र ‘छक्का पन्जा’ बाहेक अन्य आधा दर्जन बढी चलचित्रहरु एकआपसमा लड्दैछन् । तर ‘शकुन्तला’ले भदौ १० भने सोलो रिलिजको मौका पाएको छ, जसले चलचित्रको व्यापार केही उकालो लाग्ने देखिन्छ । भदौमा एकै मितिमा ४ चलचित्रसम्म रिलिज हुन लागेको अबस्थामा राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’ सोलो रिलिजमा उत्रिनुले कतै अन्य निर्माता राजेशको स्टारडमले डराएका त होइनन् ? भन्ने शंका पनि उब्जाएको छ ।
अहिलेसम्म चलचित्रमा महिला बनेर अभिनय नगरेका राजेश हमाललाई महिला बनेर अभिनय गरेको हेर्न दर्शकहरु पनि लालहित छन् तर चलचित्रको प्रचारको बेला हमाल अमेरिका उडेपछि भने निर्माणपक्ष केही दुखी भएको छ । चलचित्रका निर्माता महेश्वर खत्रीले नायक हमाल निर्माणपक्षसँग सल्लाह गरेर नै अमेरिका प्रस्तान गरेको सिनेखबर डटकमसँग एक भेटमा बताए । उनले भनेका छन्, ‘चलचित्र महिला प्रधान छ । चलचित्रमा राजेश हमाललाई महिलाको रुपमा प्रस्तुत गर्नुले पनि चलचित्र शकुन्तलाले महिलाहरुको कथा उठान गरेको बुझ्न सकिन्छ ।’
राजेश हमालको क्यारेक्टरलाई सस्पेन्समा राख्दै निर्माता खत्रीले भने -‘चलचित्रमा महानायकलाई महानायिका बनाएका छौं ।’ चलचित्रमा नायक हमालले नारीको अवतारमा खतरनाक एक्शन गरेको पनि देख्न सकिनेछ ।’ हाल आफ्नो काम विशेषले अमेरिकामा रहेका राजेश हमालले चलचित्र शकुन्तला आफ्नो लागि पनि प्रतिक्षित रहेको बताएका छन् । पहिलो पटक फरक गेटअपमा देखिएका राजेशलाई आफ्नो ‘शकुन्तला’ अवतार कतिको सफल होला त्यो हेर्न भने भदौ १० गते नै कुर्नु पर्नेछ । दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा राजेश हमालको अलवा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।