दयाहाङ राई नेपाली चलचित्रको पर्दामा राम्रै जमेका अभिनेता हुन् । रुवाउन भन्दा पनि दर्शकहरुलाई हँसाउन माहिर दयाहाङ पछिल्लो समय भने अलि बढी नै चलचित्र खेल्दै गएका छन् । कहिले काही त दयाहाङको एकै महिनामा तिन चलचित्रसम्म प्रदर्शन हुन्छन् । यो हुँदा कलाकारप्रति दर्शकहरुको रुची घट्दै जान्छ तर दयाहाङले यस विषयमा भने पछिल्लो समय केही ध्यान दिँदै गएका छन् । संख्यात्मक हिसाबले भन्दा पनि अहिले दयाहाङ राम्रो चलचित्रमा काम गरेको देख्न सकिन्छ । त्यही क्रममा भदौमा दयाहाङको दुई चलचित्र प्रदर्शनमा आउने पक्का थियो तर एक चलचित्रले रिलिज मिति पोष्टपोण्ड गरेपछि अहिले दयाहाङको तनाब केही घटेको छ । यसअघि दयाहाङ राई अभिनित चलचित्र ‘झुम्की’ भदौ ९ गते आउने पक्का भएको थियो तर ‘झुम्की’ यूनिटले चलचित्रको रिलिज मिति पोष्टपोण्ड गरेपछि अब भदौमा दयाहाङको एक चलचित्र मात्र प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई अभिनित चलचित्र ‘विर विक्रम’ भदौ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘विर विक्रम’ प्रदर्शन भएको दोस्रो हप्तामा चलचित्र ‘झुम्की’ लाग्ने भएपछि केही महिना देखी दयाहाङ निकै तनाबमा थिए । अब भने दयाहाङलाई मात्र होइन ‘विर विक्रम’का निर्मातालाई पनि केही फाइदा पुग्ने पक्का छ ।