काठमाडौं । गीतकार अम्बिका गुरुङले आफ्ना श्रीमान् बुद्धिबहादुर गुरुङको ६९ जन्मोत्सवको अवसर पारेर आफैंले रचना गरेको ‘आँखामा तिम्रो’ गीतको म्युजिक भिडियो प्रिमियर गरेकी छिन् । हाँस्य कलाकार शुलेमान शंकर इकुद्वारा काठमाडौंको मुलपानीमा सञ्चालित स्नेह आश्रममा गीतकार गुरुङको तर्फबाट म्युजिक भिडियो प्रिमियर गर्नुअघि त्यहाँ आश्रित टुहुरा बालबालिकाहरुलाई नगद २१ हजार रुपैयाँका साथमा विभिन्न उपहार, कापी–कलम तथा खानेकुरा प्रदान गरिएको थियो ।
त्यसक्रममा बालबालिकाहरुले जन्मदिनको केक काटेर खुशीयाली साटासाट गरे । आश्रममा सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट आदि जिल्लाका भूकम्पपीडित बालबालिकाहरु आश्रित छन् ।
सहयोग राशी ग्रहण गर्दै हास्य कलाकार शुलेमानले गीतकार गुरुङलाई आफ्नो श्रीमान्को जन्मदिन तथा भिडियो प्रिमियरका लागि आफ्नो आश्रम छनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । शुलेमानले आगामी एक वर्ष भित्र मुलपानी क्षेत्रमी जग्गा भाडामा लिएर बालबालिकाका लागि घर निर्मँणको तयारी थालेको बताए ।
मंगलबार प्रिमियर गरिएको ‘आँखामा तिम्रो’ गीतमा गायिका जुना प्रसाईंको स्वर तथा प्रकाश लेप्चाको संगीत छ । लेप्चाकै संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मिस राई–२०१६ सीता राई तथा मोडल शिवदास गुरुङले अभिनय गरेका छन् ।