गएको शनिबार पोखरामा सम्पन्न ‘८ औं डि सिने अवार्ड’ को विवाद अहिले पनि साम्य हुन सकेको छैन । उत्कृष्ट ५ मनोनयन देखी नै चर्को विवादमा मुछिएको ‘डि सिने अवार्ड’ विवादका बिच नै शनिबार पोखराको एक होटमा सम्पन्न भयो । चतुर्याई पूर्वक आयोजक संस्था छायाँ छवि क्रियशनले अवार्ड वितरण गर्न खोजिएपनि पनि अवार्ड पूर्णतया विवादको घेरामा पर्यो । ‘८ औं डि सिने’ अवार्डको उत्कृष्ट पटकथाको अवार्ड ‘पशुपतिप्रसाद’बाट खगेन्द्र लामिछाने र यही चलचित्रबाट निर्देशक दिपेन्द्र के. खनालले पाए । अचम्मको कुरा त यो छ कि उत्कृष्ट फिल्मको अवार्ड चाँही ‘क्लासिक’ लाई दिइयो । यो सुन्दैमा हास्यास्पद देखिन्छ ।
चलचित्रले पटकथामा अवार्ड पाएपछि चलचित्र त्यसै उत्कृष्ट बन्छ तर अवार्डमा कमजोरी के भयो भन्दा पटकथा र उत्कृष्ट चलचित्रमा ‘पशुपतिप्रसाद’लाई अवार्ड दिइयो र उत्कृष्ट फिल्मको अवार्ड ‘क्लासिक’लाई । अवार्डमा मनोमानी भएको यहाँबाट सजिलै थाहा हुन्छ कि अवार्डमा ‘क्लासिक’ फिल्म उत्कृष्ट भयो तर निर्देशकको अवार्ड भने ‘पशुपतिप्रसाद’बाट दिपेन्द्र के. खनालले लगे । प्राविधिक हिसाबले ‘क्लासिक’ ‘पशुपतिप्रसाद’ भन्दा उत्कृष्ट थियो त्यसकारण आयोजकले पटकथा र उत्कृष्ट फिल्मको अवार्ड ‘पशुपति प्रसाद’लाई दिएर निर्देशकको अवार्ड ‘क्लासिक’बाट दिनेश राउतलाई दिएको भए अवार्ड केही हदसम्म फेयर भएको महशुस हुन्थ्यो । यो हेर्दा आयोजक संस्थाले अवार्डमा राम्रो मनोमानी गरेको बुझ्न सकिन्छ ।
खबरका अनुसार अवार्ड आयोजक संस्थाले मनपरी गरेको देखेपछि पोखरा पुगेका क्लासिक निर्देशक दिनेश राउत कार्यक्रम स्थल नै छोडेर हिँडेका थिए । हालै कान्तिपुरका पत्रकार गोकर्ण गौतमले पोष्ट गरेको एक स्टाटसमा निर्देशक राउतले कमेन्ट गर्दै लेखेका छन्, ‘जिन्दगीमा अहिलेसम्म अरु केही कमाउन सकेको थिइन, ईज्जत कमाउने कोशिस गर्दै थिए तर ईज्जत र सम्मान दिने ठाउँबाट नै बेइज्जत कमाएको महशुस भयो ।’
उनको यो कमेन्ट हेरेपछि निर्देशक राउत अवार्ड आयोजक प्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ । त्यस्तै अवार्डको अर्को हास्यास्पद घटना नायिका प्रियंका कार्कीलाई चलचित्र लुटेराबाट उत्कृष्ट आइटम डान्सको अवार्ड दिँदा भयो । अवार्ड आयोजक संस्थाले उत्कृष्ट आइटम डान्सको अर्थ नै सायद गलत बुझ्यो । उत्कृष्ट आइटम डान्स भनेर अवार्ड दिनु भनेको कोरियोग्राफरलाई भन्ने बुझिन्छ । प्रियंकाले ‘ब्लास्ट हुनेवाला जवानी’ बोलको आइटम गीतमा डान्स गरेकी थिइन तर यसको कोरियोग्रफर कविराज गहतराज हुन् । यदी आयोजक संस्थाले बेष्ट आइटम डान्सर अवार्ड भनेर प्रियंकालाई दिएको भए स्वीकार्ने ठाउँ हुन्थ्यो तर उत्कृष्ट आइटम डान्सलाई आयोजक संस्थाले डान्सर अवार्ड बनाएपछि अहिले ‘८ औं डि सिने अवार्ड’ राम्रै विवादमा तानिएको छ ।